काठमाडौं । राष्ट्रिय स्तरको फिफ्टिन्स रग्वी प्रतियोगिता फागुनको पहिलो साता आयोजना हुने भएको छ ।
नेपाल रग्वी संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन ६ देखि १२ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ । प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
गत वर्ष नेपाल रग्वी संघले चार वटा राष्ट्रिय स्तरको क्लवको सहभागितामा फिफ्टिन्स रग्वी लिगको आयोजना गरेको थियो ।
यस वर्षको प्रतियोगितामा आर्मी, एपीएफ, पुलिस र गोर्खाली रग्वीको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिईयो । लिगको आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी क्लबले बढीमा ५ विदेशी खेलाडी समावेश गर्न पाउने संघका अध्यक्ष दिपक देवकोटाले बताए ।
‘क्लबले ५ विदेशी खेलाडी राख्न पाउनेछन् । प्लेईङ सेटमा ३ खेलाडी मात्र उतार्न पाईनेछ ।’ उनले भने ।
सहभागी क्लबलाई आयोजकले तयारी खर्च वापत ५ लाख भन्दा धेरै रकम व्यवस्था गर्ने बताएको छ भने प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ५० हजार सहित ट्रफी, मेडल प्राप्त गर्नेछन् ।
संघका महासचिव गोविन्द घिमिरेले प्रतियोगिताबाट नेपालको राष्ट्रिय फिफ्टिन्स रग्वी टिमका लागि राष्ट्रिय खेलाडीको छनोट गरिने जानकारी दिए । प्रतियोगिताको आयोजनाबाट नेपालमा रग्वी खेल क्लब स्तरमा विकास हुन सहयोग पुग्ने घिमिरेले उल्लेख गरेका थिए ।