काठमाडौं । विश्वकप फुटबल २०२६ को फाइनल खेल न्यू जर्सीको मिटलाइफ स्टेडियममा हुने भएको छ । विश्वकप फुटबलको फाइनल खेल २०२६ को जुलाई १९ मा हुने तालिका छ ।
प्रतियोगिता मेक्सिको सिटीको एज्टेका स्टेडियममा जुन ११ बाट सुरु हुनेछ । मेक्सिको तीन मध्य एक देश हो, जसले सन् २०२६ को विश्वकपको सह–आयोजना गर्दैछ । प्रतियोगिता मेक्सिको सहित क्यानडा र यूएसमा हुनेछ । प्रतियोगिता ३९ दिनसम्म चल्नेछ ।
एज्टेका स्टेडियम अर्जेन्टिनी लिजेण्ड डिएगो म्याराडोनाको 'हेन्ड अफ गड'का लागि प्रसिद्ध छ ।
सन् १९८६ मा क्वार्टरफाइनलमा ईङ्ल्याण्डविरुद्धको खेलमा म्याराडोनाले सो गोल यही रंगशालामा गरेका थिए । रंगशाला ८३ हजार दर्शक क्षमताको रहेको छ ।
मेक्सिकोले सन् १९७० र १९८६ को विश्वकपको आयोजना गरेको थियो । अमेरिकाले सन् १९९४ को विश्वकपको आयोजना गरेको थियो । क्यानडाले पहिलो पटक विश्वकपको आयोजना गर्न लागेको हो । टोरेन्टोमा जुन १२ मा पहिलो खेल हुनेछ । अमेरिकाले जुन १२ मा लस एन्जल्समा पहिलो खेल खेल्नेछ ।
विश्वकपको पछिल्लो संस्करण कतारले आयोजना गरेको थियो । कतार विश्वकप भन्दा सन् २०२६ को विश्वकप १० दिन बढी सञ्चालन हुनेछ ।