काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा रुस्लान थ्री स्टार क्लब पराजित भएको छ । बुधबार भएको खेलमा थ्री स्टार सीएमजी संकटा क्लबसंग २ - १ गोल अन्तरले पराजित भएको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरुवाती अग्रता जोगाउन नसक्दा थ्री स्टार पराजित भएको हो । संकटालाई जित दिलाउन अमित तामाङले दुई गोल गरे । थ्री स्टारका रन्जन बिष्टले एक गोल गरे ।
खेलको ३० औं मिनेटमा रन्जन बिष्टले गोल गर्दै थ्री स्टारलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ४२ औं मिनेटमा अमित तामाङले पेनाल्टीमा गोल गर्दै संकटालाई खेलमा फर्काए । थ्री स्टारका सुनिल बलले आफ्नो डिबक्समा फल गरेपछि पाएको पेनाल्टीमा अमितले गोल गरेका हुन् ।
दोस्रो हाफमा संकटाले पुनः पेनाल्टी प्राप्त गर्यो । थ्री स्टारका बिक्रम लामाले सौजन राइलाई पेनाल्टी बक्सभित्र लडाएपछि संकटाले ६४ औं मिनेटमा पेनाल्टी पाएको थियो । जसमा अमितले पुन: गोल गर्दै संकटालाई २ - १ को महत्वपूर्ण जित दिलाए ।
खेलमा अमित म्यान अफ दि म्याच चुनिए ।
जितसंगै संकटाले लिगको दोस्रो स्थान पक्का गरेको छ । लिगको उपविजेता बनेको संकटाले १२ खेलबाट २८ अंक जोडेको छ ।
संकटा शीर्ष स्थानको मनाङ भन्दा ८ अंकले पछि छ । तर, संकटा तेस्रो स्थानको थ्री स्टार भन्दा ५ अंकले अघि छ । थ्री स्टारको २३ अंक छ । संकटालाई पराजित गरेको भए थ्री स्टारको उपविजेता सम्भावना कायम रहने थियो ।
यस्तै लिगमा एक खेल बाँकी रहदा थ्री स्टारलाई तेस्रो स्थानमा रहन अन्तिम खेल जित्नै पर्ने भएको छ ।