पोखरा । विभागीय टोली त्रिभुवन आर्मी क्लबले चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ ।
शुक्रबार भएको खेलमा आर्मीले आर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ सेटले हराएको हो ।
पोखरा रंगशालाको कोर्टमा पहिलो सेटमा २५–१७ को जित निकालेको आर्मीले दोस्रो सेट भने गुमाउन पुगेको थियो ।
दोस्रो सेटमा पुलिसले १८–२५ जित निकाल्यो । त्यसपछि आर्मीले लगातार दुई सेट जित्यो । तेस्रोमा २५–२० र चौथोमा २५–१९ को जित निकाल्दै आर्मीले तेस्रो भयो ।
प्रतियोगिता अन्तर्गत महिला र पुरुष दुबैतर्फको फाइनल शनिबार हुने भएको छ । जसमा महिलातर्फको फाइनलमा साविक विजेता एपीएफ र चन्द्रागिरी नगपालिका न्यु डायमण्ड भिड्नेछन् ।
यता पुरुषतर्फका दुबै सेमिफाइनल आज हुनेछन् ।