काठमाडौं । एपीएफका प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन प्रकास दाहाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि नजिक पुगेका छन् ।
शुक्रबार सम्पन्न खेलमा प्रिन्सले एपीएफका देवराज रानालाई २१–१०, २१–१२ ले पराजित गर्दै उपाधिका लागि आर्मीका प्रफुल महर्जनसंगको भेट पक्का गरेका हुन् । प्रफुलले पुलिस क्लबका बिष्णु कटुवाललाई २१–१५, २१–१२ ले पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका हुन् ।
यस्तै महिला तर्फको खेलमा आर्मीकी रशिला महर्जनले आफ्नै क्लबकी अमिता गिरीमाथि २१–५, २१–१७ को सहज जित निकाल्दै फाईनलमा आर्मीकै अनुमाया राईसंगको भेट पक्का गरेकी हुन् । अनुले कस्तुरी कलेजकी सिमा राजबंशी माथि २१–१८, २१–१४ को जित हात पारेकी हुन् ।
लाखेपोखरी बौद्धस्थित स्पोर्ट्स हवको आयोजनामा भएको प्रतियोगिताका भेट्रान ३५ बर्ष माथिको खेलमा कास्कीका विशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडीले न्यू बिएसका नारायण गौतम र आरिफ मलिकको जोडीलाई २१–१८, २१–१४ ले र चितवनका विद्वान गुरुङ्ग र अमर रायमाभीको जोडीले चन्द्रागिरीका माधव ढकाल र प्रमोद महर्जनको जोडीलाई २१–११, १९–२१, २१–१४ ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाउन सफल भएका छन् ।
यसैगरि पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थाम्सुहाङ्गको जोडीले आयोजक स्पोर्टस् हवका लाक्पा तेङ्गी तामाङ्ग र श्याम तामाङ्गको जोडीलाई २१–१३, २१–१५ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरे ।
पुरुष शीर्ष २० बरियता बाहेकको युगल प्रतियोगितामा कास्कीका विधान अधिकारी र पविन लिनथेपको जोडी सूर्यदर्शन युनिटीका महेश खड्का र दीपक रानको जोडीलाई २१–१६, २१–१६ को समान अन्तरले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाउन सफल भएका छन् ।
यस्तै सेमिमा स्थान बनाउने क्रममा एपीएफका भोज बहादुर गुरुङ्ग र सन्तोष पनेरुको जोडीले बालकुमारी रिमिक्सका ससिन डङ्गोल र सुमन शाक्यको जोडीलाई २१–१८, १९–२१, २१–१७, स्पोर्टस् हवका अभिषेक गुरुङ्ग र निश्चल कार्कीको जोडीले धादिङ्गका लक्ष्मण मल्ल ठकुरी र देवीनगरका राम मल्ल ठकुरीको जोडीलाई २१–१५, २०–२२, २१–१७, नखिपोटका बिवेक कन्दङ्गवा र नेल्सन राईको जोडीले लाफाका मनोज फौदार र बिवेक न्यौपानेको जोडीलाई २१–१७, २१–१९ ले पराजित गरे ।
पुरुष भेट्रान युगल ४५ बर्ष माथिको प्रतिस्पर्धामा पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थाम्सुहाङ्ग, तिलक छन्त्याल र हिरा रोका, एपीएफका धिरेन्द्र चन्द र गण्डकीका टिका थापा तथा चन्द्रागिरीका हरि खत्री र राजकुमार पोखरेलको जोडी पनि सेमिफाईनलमा स्थान पक्का गर्न सफल भएका छन् ।
प्रतियोगिताको फाईनल खेल भोली शनिबार हुने र विजयी खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको आयोजक कमिटिका अध्यक्ष अश्मेल अखिल शाहीले जानकारी गराएका छन् ।