काठमाडौं । रुपन्देहीको पहिचान बनेको मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता माघ २६ गतेबाट हुने भएको छ ।
प्रदेश खेलकुद विकास परिषद लुम्बिनीको मुख्य प्रबर्द्धन र मणिमुकुन्द भलिबल क्लबको आयोजनामा प्रतियोगिता माघ २६ देखि फागुन २ गतेसम्म हुने भएको हो ।
बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको मितिबारे जानकारी दिईएको हो । प्रतियोगितामा तीन विभाग र सात प्रदेश गरि १० टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख ५० हजार, तेस्रो हुने टिमले १ लाख र चौथों हुने टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताका विधागततर्फका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा प्रदेश खेलकुद विकास परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले खेलको लोकप्रियतालाई उचाईमा लैजान रुपन्देहीको क्लबको महत्वपुर्ण योगदान रहेको बताए ।
उनले राष्ट्रिय प्रतियोगिताको रुपमा मणिमुकुन्द भलिबललाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताए ।
आयोजकले खेल हेर्नका लागि २ हजार ५ सय जना दर्शक क्षमताको प्यारापिट बनाउने र सहभागी टिमका खेलाडीको यातायात, खाना र बसोबासको समेत ब्यवस्थापन गरिने बताएको छ ।