काठमाडौं । सातौं विश्व कुङफु च्याम्पियनसिपमा नेपाली उमा कुङफु टोलीले ६ स्वर्ण जितेको छ ।
थाइल्यान्डको फुकेटमा डिसेम्बर २९ देखि ३१ तरिखसम्म भएको प्रतियोगितामा नेपालले ६ स्वर्णसहित ५ रजत जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जानकारी गराए ।
पुरुष थाउलुमा आयुब घिमिरे, पुरुष सान्डा ५५ केजीमा सुनबहादुर तामाङ, पुरुष सान्डा ७० केजीमा आर्योन राई, महिला थाउलुको सर्ट वेपनमा सियाङ तामाङ, महिला थाउलुमा सौन्दर्य गुरुङ र पुरुष मंकी थाउलुमा कमल मगरले नेपाललाई स्वर्ण दिलाए ।
सियाङले बेयर ह्यान्ड, सौन्दर्यले सान्सौं तथा कमलले थाउलो र सान्डा बक्सिङ पनि रजत जिते । बाँकी एक रजत पुरुष सान्डा ५५ केजीमा चिराग पौडेलले हात पारे । प्रतियोगितामा १२ राष्ट्रका करिब २ सय ५० खेलाडीको सहभागिता रहेको उमा कुङफु संघले जनाएको छ ।
प्रतियोगितामा अध्यक्ष तामाङले थाउलोतर्फ जज तथा सुकमान लामाले रेफ्रीको भूमिका निर्वाह गरेका थिए । थाइल्यान्ड कुङफु संघको तत्वावधान तथा विश्व कुङफु महासंघद्वारा आयोजित प्रतियोगिताको दौरान भएको विभिन्न राष्ट्रका अध्यक्षहरुको विश्व कोंग्रसमा अध्यक्ष तामाङले नेपाल प्रतिनिधित्व गर्दै सहभागिता जनाएका छन् ।
अध्यक्ष तामाङ सोमबारै स्वदेश फर्किसकेका छन् भने बाँकी टोली शुक्रबार नेपाल आउने कार्यक्रम छ । नेपाली टोलीको प्रशिक्षकमा रमेश महर्जन, व्यवस्थापकमा भुपेन्द्र गुरुङ तथा अफिसियलमा मोतीप्रसाद अधिकारी रहेका थिए ।