पोखरा । पोखरा महानगरपालिका भलिबल संघको आयोजनामा पुस १४ गतेदेखि भएको पोखरा कप अन्तर क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पर्बत भलिबल क्लबले जितेको छ ।
२५ औं सडक महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा टफ गोर्खा टिमलाई हराउँदै पर्वतले उपाधि जितेको हो ।
आइतबार भएको प्रतियोगिताको फाइनल खेलमा पर्वतले गोर्खालाई २५–१६, २५–२१ र २५–२३ को सोझो सेटमा पराजित गरेको थियो ।
उपाधिसँगै पर्वत भलिबल क्लबले १ लाख ११ हजार एक सय ११ नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । उपविजेता टफ गोर्खा ट्रेनिङ सेन्टरले ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गरेको छ ।
पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदार, रेवान पोखराका उपाध्यक्ष तथा सडक महोत्सवका कार्यक्रम संयोजक विश्वराज पौडेल लगायतले विजेता खेलाडी तथा टिमलाई पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा गलकोट भलिबल क्लब, पोखरा महानगरपालिका निलो, पोखरा महानगरपालिका रातो, पर्वत भलिबल क्लब, बसुन्धरा पार्क क्लब, गुरुकुल माबी, सिद्धार्थ लभडेल माबी, टफ गोर्खा सहभागी थिए ।