प्रिन्स र रशिलालाई उपाधि

पोखरा । दोश्रो संस्करणको राष्ट्रिय तथा पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स दाहाल र रशिलाले महर्जनले जितेका छन् ।
कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजना, पोखरा महानगर पालिकाको मुख्य प्रायोजन तथा नेपाल पर्यटन बोर्ड पोखराको प्रबर्द्धनमा शनिबार सम्पन्न प्रतियोगितामा मेन्स ओपन सिंगल्सतर्फ प्रिन्स र उमेन्स सिंगल्सतर्फ रशिलाले उपाधि जितेका हुन् ।
उपाधिसंगै उनीहरुले समान नगद ५०–५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारे ।
मेन्स सिंगल्सतर्फको भिडन्तमा नेपाल नम्बर दुई वरियता प्राप्त एपिएफका प्रिन्सले त्रिभुवन आर्मी क्लवका नेपाल नम्बर तीन वरियताका खेलाडी प्रफुल महर्जनलाई २१–१७, २१–११ को सोझो सेटमा पराजित गरी उपाधि जितेका हुन् ।
प्रतियोगितामा नेपाल पुलिस क्लवका विष्णु कटुवाल र एपिएफ क्लवका क्षितिज खनाल तेश्रो भएका छन् । उपविजेता प्रफुलले नगद २० हजार तथा विष्णु र क्षितिजले ट्रफी, मेडल र प्रमाणपत्रका साथमा जनही समान १०–१० हजार हात पारे ।
महिला सिंंगल्सको फाइनलमा नेपाल एक वरियता प्राप्त त्रिभुवन आर्मी क्लवकी रशिलाले आर्मीकै अनुमाया राईलाई २१–१२, २१–१५ ले हराइन् । प्रतियोगितामा आर्मीकी अमिता गिरी र कस्तुरी कलेजकी सिमा राजवंशी भएका छन् । उपविजेता अनुमायाले नगद २० हजार तथा अमिता र सिमाले ट्रफी, मेडल र प्रमाणपत्रका साथमा जनही समान नगद १०–१० हजार हात पारे ।
ब्वाइज यू–१७ तर्फ एपिएफका अरुण अधिकारीले आर्मी क्लबका अभय महरालाई २१–१३, २१–१४ को सोझो सेटमा पराजित गरी प्रथम भएका छन् । आर्मीका कविर केसी र सोही क्लवका सुविन श्रेष्ठ तेश्रो भए । गल्स यू–१७ तर्फ कास्कीकी दिलाशा रानाले आर्मीकी रिहाना शेरचनलाई २१–१५ र २१–१७ को सोझो सेटमा पराजित गरी प्रथम हुँदा सुर्खेतकी दिपिका रोकाया र एमविएफकी निभा राई तेश्रो भएका छन् ।
प्रतियोगिता अन्तर्गतनै मेन्स डबल्स फाइनलमा एपिएफका प्रिन्स दाहाल विजित थापा मगरको जोडीले सोही क्लवका क्षितिज खनाल देवराजरानालाई २१–१८, २१–१७ को सोझो सेटमा पराजित गरी प्रथम भएका छन् भने तेश्रो स्थान एपिएफको जोडी प्रनिश सिंह ठकुरी र सुजन थापा तथा नेपाल पुलिस क्लवका जिवन आचार्य र विष्णु कटुवालको जोडीले प्राप्त गर्न सफल भए ।
यस्तै उमेन्स डबल्स तर्फको फाइनलमा आर्मी क्लवका जोडी अमिता गिरी र रशिला महर्जनले आर्मी र कस्तुरी कलव सम्मिलित जोडी अनुमायाँ राई र सिमा राजवंशीलाई २१–१०, १०–२१ र २१–१७ ले पराजित गरेका छन् भने प्रतियोगितामा कास्कीका याम कुमारी गुरुङ र दिलाशा राना तथा झापा र बेल्टारका अन्जना राई र रोजीराईले तेश्रो स्थान हात पारे ।
मिक्स डबल्स तर्फको फाइनलमा आर्मीका प्रफुल महर्जन र रशिला महर्जनले एपिएफका प्रिन्स दाहाल र रिना तामाङलाई २१–१३ र २१–१४ ले पराजित गरेका छन् । सोही इभेन्टमा बुटवल र कास्कीका जोडी गणेश रायमाझी र दिलाशा राना तथा कास्कीकै विशाल खड्का र याम कुमारी गुरुङको जोडी तेश्रो भएको छ ।
व्याइज सिंगल्स यू–१२ तर्फको फाइनल तनहुँका सफल भुजेलले एपिएफका आरुष सिम्खडालाई २१–१२ र २१–१३ ले हराएका छन् । सोही इभेन्टमा आर्मीका सुदेश राजकोटी र कन्चनपुरका आशिष खत्री तेश्रो भएका छन् । गल्स सिंगल्स यू–१२ मा दिपक बोहरा एकेडेमीका अस्मिता खत्रीले क्लव मध्यपुरकी स्वर्लिन श्रेष्ठ विरुद्ध फाइनलमा १७–२१, २१–१२, २४–२२ ले जित्दा म्याग्दीकी व्रिटिना सुवेदी र कास्कीकी सेरीन प्रधानाङ्गले तेश्रो स्थान हासिल गरे ।
मेन्स डवल्स ३५ वर्ष माथी मास्टर्समा कास्की र आर्मी क्लवका विशाल खड्का र सुरज महर्जनको जोडीले कास्की र नेपाल पुलिस क्लवका जोडी होम गुरुङ र विष्णु कटुवाललाई २१–१७, २१–१९ ले फाइनलमा पराजित गरे । प्रतियोगितामा कास्कीका इच्छा गुरुङ र शम्भु कुमार श्रेष्ठ तथा चितवन र नवपलुरका जोडी विधान गुरुङ र केवल श्रेष्ठ तेश्रो स्थान प्राप्त गरे ।
मेन्स डवल्स ४५ वर्ष माथी मास्टर्समा कास्की र पर्वतको जोडी डोलराज आले र प्रेम गुरुङले कास्कीको जोडी खेलाडी राजेश गुरुङ र शम्भु कुमार श्रेष्ठलाई २१–१९, १९–२१, २१–१९ ले पराजित गरे । त्यस्तै कास्की र तनहुँको जोडी रामशरण केसी र मान बहादुर राना तथा कास्कीका नर बहादुर गुरुङ र विशाल हिराचनको जोडी तेश्रो भए ।
प्रतियोगिता अन्तर्गत नै भएको ५५ वर्ष माथी मास्टर्स डबल्समा कास्कीको जोडी विर बहादुर आले र राजेन्द्र गुरुङले फाइनल प्रतिस्पर्धामा कास्की र बागलुङको जोडी सुरेश वम र निर्माण श्रेष्ठलाई १८–२१, २३–२१ र २१–१५ ले पराजित गर्न सफल भएका छन् । प्रतियोगितामा काठमाण्डौ र खोटाङको जोडी दिल बहादुर कान्दङवा र दिपक राई, फिटनेश पार्कको जोडी उमेश केसीले गोविन्दन शाहीको जोडी तेश्रो भएको छ ।
प्रतियोगितामा कुल १२ इभेन्टमा ४८ क्लव तथा जिल्लाका गरी ३ सय भन्दा महिला तथा पुरुष खेलाडीहरुको सहभागिता रहेको थियो ।