काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व महासचिव इन्द्रमान तुलाधरले पंकजबिक्रम नेम्वाङ समूहसँग मिलेर जाने घोषणा गरेका छन् । एन्फा हेडक्वार्टरमा शनिबार संयुक्त पत्रकार सम्मेलन गर्दै पूर्व महासचिव समेत रहेका तुलाधरले पंजकबिक्रम नेम्वाङ नेतृत्वको निर्वाचित कार्यसमितिलाई सहयोग गरेर जाने बताएका हुन् ।
‘एक वर्षसम्म प्रतिक्षा गर्यौ । हटाउने वैधानिक प्रयास गर्यौ । सकेनौं । अब मिलेर जानपर्छ भन्ने हो ।’ तुलाधरले भने ।
ए डिभिजन क्लब संकटाका अध्यक्ष समेत रहेका तुलाधरले हरेक नेतृत्वलाई दुई कार्यकाल काम गर्न दिनुपर्छ भन्ने पक्षमा आफु रहेको बताउँदै एन्फाका वर्तमान अध्यक्ष नेम्वाङसँगको सहकार्य दिर्घकालिन हुनसक्ने संकेत समेत गरेका छन् ।
उनले आफुलाई एन्फाको तेस्रो शक्तिको रुपमा परिभाषित गर्दै पंकज नेतृत्वको कार्यसमिलिाई बलियो बनाएर लैजाने समेत बताएका छन् । ‘तीन वटा पक्षमध्य एउटा पक्षसँग मिल्नुस भनेर सुझाव दिदै आएको थिए । आफैले नेतृत्वको कोशिश गरेको हुँ, तर सकिन । अब फलो गर्छु ।’ तुलाधरको स्विकारोक्ति थियो, ‘कि लिड गर्नुपर्यो, कि फलो गर्नुपर्यो । नत्र आउट हुनपर्यो ।’
तुलाधरले कर्माछिरिङ समूहसँग मिलेर अध्यक्ष पंकजबिक्रम नेम्वाङमाथि अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । हेटौडामा भदौ २५ गते भएको एन्फाको विशेष महाधिवेशनमा भने तुलाधरले अविश्वासको प्रस्ताव दर्ता गराएका नेम्वाङलाईनै साथ दिए । उनकै सहयोगमा नेम्वाङले झण्डै दुई तिहाई विश्वासको मत प्राप्त गरेका थिए । अधिवेशनमा तुलाधरले भने मतदान बहिष्कार गरे । तर उनी पक्षका अधिकांश प्रतिनिधिले नेम्वाङलाई मतदान गरेका थिए ।
तुलाधरले एन्फाको कन्ट्रोल फन्डिङलाई फुकाउन र प्रतियोगिता सञ्चालनको जिम्मेवारीमा सहयोग गर्ने समेत खुलाएका छन् । इन्द्रमान एन्फाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा फर्कने चर्चा छ । तर तुलाधर र एन्फामा महासचिव किरण राईले पत्रकार सम्मेलनमा त्यो विषयमा प्रस्ट पारेनन् । तर तुलाधरलाई दिने नयाँ भुमिकाको विषयमा दुवै पक्षले अस्विकार पनि गरेनन् । एक कदम अघि बढेर तुलाधरले भने, ‘भुमिका बिना त काम गर्न गाह्रो हुन्छ ।’
फुटबल राजनीतिमा अस्थिर र अवसरवादी चरित्रको आरोप ब्यहोर्दै आएका तुलाधरले आफुमाथि लागेका आरोपमा खासै खण्डन गरेनन् । ‘म फुटबलमा काम गर्न रमाउने मान्छे हो । कसैले मलाई अस्थिर र अवसरवादी भन्छ भने मेरो कुनै गुनासो छैन ।’ उनले थपे ।
उनले हेटौडा महाधिवेशनमा मतदान गर्ने विषयमा कर्माछिरिङ शेर्पा नेतृत्वको समूहसँग आफ्नो विवाद भएको समेत बताए । ‘हामी आफैले माग गरेको विशेष साधारण सभाको मतदानमा भाग लिनुपर्छ भन्ने थियो । उहाँहरु अदालत, अख्तियार जाने विषयमा समेत मसँग सल्लाह गर्नुभएन ।’ शेर्पा समूहसँग अलग हुने कारण बारे तुलाधरले भने ।
एन्फा महासचिव किरण राईले फुटबल विकासमा सबैलाई सहकार्यको अपिल गरिएको बताए । उनले मिलेर काम गर्ने उद्धेश्य अनुसार तुलाधरसँग सहकार्य गर्न लागिएको प्रस्टाए । ‘हेटौडा महाधिवेशनबाट फुटबल ट्रयाकमा फर्किएको छ । अब फुटबलले गति लिन्छ ।’ उनले दाबी गरे ।
पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेस शाहको समेत उपस्थिती रहेको थियो ।