पोखरा । पोखरामा मंसिर ९ गते अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री प्रतियोगिता आयोजना हुने भएको छ ।
चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा सो प्रतियोगिता हुने भएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
नेपाली १० र चिनियाँ १० गरी २० टिमको सहभागिता रहने प्रतियोगितामा कुल ६ सय खेलाडीले सहभागिता जनाउने प्रतियोगिता संयोजक बिश्वशंकर पालिखेले जानकारी दिए । लेकसाइडस्थित बाराहीघाटमा हुने प्रतियोगिता अन्तरगत पौडी, साइक्लिङ र दौड हुने छ ।
टिम इभेन्ट अन्तरगत प्रथम हुनेले ३ लाख ६० हजार, दोस्रो हुनेले २ लाख ८८ हजार, तेस्रो हुनेले २ लाख १६ हजार, चौथो हुनेले १ लाख ४४ हजार र पाँचौ हुनेले ९० हजार प्राप्त गर्ने छन् । त्यस्तै व्यक्तिगत इभेन्टतर्फ प्रथम हुनेले १ लाख ४४ हजार, दोस्रो हुनेले १ लाख ८ हजार, तेस्रो हुनेले ५४ हजार र चौंथोदेखि ८ औं सम्म हुनेले १८ हजार प्राप्त गर्ने छन् ।
त्यस्तै विद्यार्थीतर्फको दौड अन्तरगत प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार चौंथो हुनेले १० हजार र पाँचौं हुनेले ५ हजार प्राप्त गर्ने संयोजक पालिखेले बताए ।
प्रतियोगिताले पोेखराको पर्यटन प्रबद्र्धनका लागि महत्वपूर्ण भूमिका खेल्ने महानगरका प्रवक्ता मोती तिमिल्सिनाले जानकारी दिए ।
प्रतियोगिताको सहआयोजकमा युनान माउन्टेनरीङ एण्ड आउटडोर स्पोर्ट्स एसोसिएसन चीन र होटल संघ पोखरा रहका छन् । प्रतियोगिता सम्पन्न गर्न ७० देखि ८० लाख खर्च लाग्ने र पुरस्कार राशिमा मात्र २० लाख खर्च हुने बताईएको छ ।
प्रतियोगिता सफल बनाउन विभिन्न २२ वटा उपसमिति गठन गरिएको छ । प्रतियोगितामा फोटो प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम पनि गरिने आयोजकले जनाएको छ ।