काठमाडौं । नेपालका प्रकाश अधिकारीले चौथो एसियाली पारा खेलकुदको ब्याडमिन्टनमा शुक्रबार विजयी सुरुआत गरेका छन् ।
चीनको हाङझावस्थित बीजे जिम्न्याजियममा भएको पुरुष सिंगल्सको एसएल ४ क्याटगोरीको समूह ‘डि’ मा प्रकाशले इराकका अली अल्सादीलाई २–१ ले पराजित गरे । प्रकाश २१–१९, १९–२१ र २१–१९ ले विजयी भए ।
ब्याडमिन्टनकै पुरुष सिंगल्सको एसयु ५ समूह ‘जि’ मा इन्डोनेसियाका द्वि कुर्निया ओडी लिस्टयान्टोले नेपालका हेमबहादुर गुरुङलाई २१–८ र २१–१० को सोझो सेटमा पराजित गरे ।
एसियाली पारा खेलकुदको औपचारिक उद्घाटन भने अक्टोबर २२ तारिखमा हुनेछ । पारा खेलकुदमा नेपालबाट विभिन्न १० खेलमा १९ खेलाडी सहभागी छन् ।