काठमाडौं । श्रीलंकामा सुरु भएको काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालको राष्ट्रिय भलिबल टिमले विजयी सुरुआत गरेको छ ।
आईतबार कोलम्बोमा भएको खेलमा नेपालले बंगलादेशलाई ३–१ को सेटमा हराएको हो ।
पहिलो सेट २५–२० ले जितेको नेपालले दोस्रो सेट १९–२५ ले गुमाएको थियो । तेस्रो र चौथों सेटमा २५–२३ र २५–२१ को जित निकाल्दै नेपालले प्रतियोगितामा विजयी सुरुआत गरेको हो ।
नेपालले ५ वर्षपछि बंगलादेशमाथि जितको नतिजा निकालेको नेपाल भलिबल संघले जनाएको छ ।
चीनमा भर्खरै सम्पन्न एसियाडमा सहभागी भएर फर्किएको नेपालको पुरुष भलिबल टिमले श्रीलंकामा उत्कृष्ट प्रर्दशन गरेको छ ।
नेपालले मंगलबार लिगको दोस्रो खेलमा श्रीलंकासँग खेल्नेछ ।