पोखरा । पोखरामा ३५ वर्ष माथिको पुरुष भेट्रान्स कप भलिवल प्रतियोगिता हुने भएको छ ।
पोखरा १६ बाटुलेचौरमा रहेको राजपँधेरा टोल विकास संस्थाको आयोजनामा बडादशैंको अवसर पारेर असोज २६ गते देखि २८ गतेसम्म स्थानिय बाटुलेचौर खेल मैदानमा भलिवल प्रतियोगिता गर्न लागिएको संस्थाका अध्यक्ष मिन वहादुर गुरुङले जानकारी दिए ।
तीन दिनसम्म संचालन हुने प्रतियोगितामा पोखराका १६, १९, २० र १ नम्वर वडाका ३५ वर्ष माथिका पुरुष सहभागी टिमले सहभागिता जनाउन सक्ने र २४ गतेभित्र टिम दर्ताका लागि खुल्ला गरिएको संस्थाका प्रकास वस्नेतले बताए । “स्वास्थ्यका लागि खेलकुद” भन्ने अभियानका साथ प्रतियोगितालाई निरन्तरता दिईएको संस्थाले जनाएको छ ।
कार्यक्रममा भलिवल सहित रस्साकस्सी प्रतियोगिता, घैंटो फुटाउने, ठेलो हान्ने लगायतका सांस्कृतिक कार्यक्रम आयोजना गर्ने संस्थाका अध्यक्ष एवं कार्यक्रम संयोजक गुरुङले बताए ।
प्रतियोगितामा विजेतालाई च्याङ्ग्रा, मेडल र ट्रफी तथा उपविजेतालाई भेडा, मेडल र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने बताईएको छ ।
प्रतियोगितामा एउटा वडाबाट २ वटासम्म टिमले सहभागिता जनाउन सक्ने र चार वटा वडाका करिव दश वटा टिमले सहभागिता जनाउने भलिवल प्रतियोगिता उपसमितिका संयोजक विशाल खड्काले बताए ।
प्रतियोगिता सम्पन्न गर्न करिव ८ लाख खर्च लाग्ने र सो रकम विभिन्न संघ, संस्था तथा सहयोगीबाट संकलन गरिने आर्थिक उपसमितिका संयोजक केशव थापाले बताए ।
कार्यक्रमलाई व्यवस्थित बनाउन संस्थाका अध्यक्ष मिन वहादुर गुरुङको संयोजकत्वमा ९३ सदस्यीय मुल समिति र विभिन्न १२ वटा उपसमितिका साथै सल्लाहकार समिति समेत गठन गरिएको छ ।
कार्यक्रममा आर्कषणको रुपमा लिङ्गेपिङ्ग समेत राखिने संस्थाले जनाएको छ । संस्थाले अघिल्लो वर्ष पनि बडा दशैंको अवसरमा भेट्रान्स कप भलिवल तथा विविध कार्यक्रम आयोजना गरेको थियो ।