काठमाडौं । एसियन गेम्सको १९ औं संस्करण चीनको हान्जाओमा समापन भएको छ । आईतबार राति होन्जाओ ओलम्पिक स्पोर्ट्स सेन्टरमा भब्य कार्यक्रमको आयोजना गरेर प्रतियोगिताको समापन गरिएको हो ।
करिब १६ दिन चलेको प्रतियोगितामा उद्घाटन सत्र जस्तै डिजिटल टर्चसहितको एथलिट दर्शकसँग सम्पर्क गर्न रंगशालासम्म पुगेको थियो ।
समापन समारोहमा नेपाली एरिका गुरुङले राष्ट्रिय झण्डा बोकेकी थिईन् । उनी १९ औं संस्करणको एसियाडमा ब्यक्तिगत स्पर्धाकी एकमात्र पदक विजेता खेलाडी हुन् ।
तेस्रो पटक चीनमा आयोजना भएको एसियाडमा ४५ देशका करिब १२ हजार खेलाडीले विभिन्न ४१ खेलका ४ सय ८१ इभेन्टमा आफ्नो चुनौती पेश गरेका थिए ।
विश्व खेलकुदको पावर हाउस मध्यको एक चीनले २ सय १ स्वर्ण, १ सय ११ रजत र ७१ काँस्य सहित सर्वाधिक ३ सय ८३ पदक जित्यो । दोस्रोमा जापानले ५२ स्वर्ण, ६७ रजत र ६९ काँस्य सहित १ सय ८८ पदक जित्यो ।
तेस्रो स्थानका दक्षिण कोरियाले ४२ स्वर्ण, ५९ रजत र ८९ काँस्य सहित तेस्रो स्थान हात पार्दा अर्को छिमेकी मुलुक भारतले २८ स्वर्ण, ३८ रजत र ४१ काँस्य सहित १ सय ७ पदक सहित चौथौं स्थानमा अटाएको छ ।
करिब ४० राष्ट्र सहभागी प्रतियोगितामा नेपाल ३२ औं स्थानमा रह्यो । नेपालले एक रजत र एक काँस्य सहित दुई पदक जित्यो ।
कराँतेबाट एरिका गुरुङले ऐतिहासिक रजत पदक जितिन् भने नेपालको महिला कबड्डी टिमले काँस्य पदक हात पार्यो । नेपालबाट २९ खेलका २ सय ५३ खेलाडी सहभागी भएका थिए ।