विश्राममा मेसी

अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले दुई दशक लामो अन्तर्राष्ट्रिय फुटबल यात्रालाई टुंग्याउँदै राष्ट्रिय टोलीबाट सन्न्यास घोषणा गरेका छन्।
३९ वर्षीय मेसीले सोमबार आफ्नो इन्स्टाग्राममार्फत सन्न्यासको घोषणा गर्दै यो निर्णय निकै पीडादायी भए पनि अब समय आएको बताएका छन्। उनले अर्जेन्टिनाको जर्सीमा आफूले सधैं आफ्नो सबैभन्दा राम्रो प्रदर्शन दिएको र टोलीलाई सफलता दिलाउन निरन्तर संघर्ष गरेको उल्लेख गरेका छन्।
‘यो निर्णयले मलाई निकै दुखायो र अहिले पनि गहिरो पीडा भइरहेको छ। तर, अब समय आएको कुरा म बुझ्छु,’ मेसीले आफ्नो सन्देशमा भनेका छन्।
मेसीले अर्जेन्टिनाका लागि सन् २००६ मा डेब्यु गरेका थिए। उनले कीर्तिमानी रूपमा ६ वटा विश्वकप खेलेका छन्। सन् २०२२ मा कतारमा भएको विश्वकपमा अर्जेन्टिनालाई च्याम्पियन बनाउन उनको महत्त्वपूर्ण भूमिका थियो।
यस वर्षको विश्वकपमा पनि उनले अर्जेन्टिनालाई फाइनलसम्म पुर्याए। तर, न्यु जर्सीमा भएको फाइनलमा अर्जेन्टिना अतिरिक्त समयमा स्पेनसँग १–० ले पराजित भयो।
मेसीका अनुसार उनले सन्न्याससम्बन्धी पत्र जुन २१ मै लेखेका थिए, जुन विश्वकप फाइनलको दुई दिनपछिको मिति हो। तर, उनका पिता जोर्गे मेसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनले उक्त घोषणा सार्वजनिक गर्न ढिलाइ गरेका थिए।
जोर्गे मेसीको अगस्ट ८ मा आफ्नो जन्मभूमि रोसारियोमा निधन भएको थियो। राष्ट्रिय टोलीबाट सन्न्यास लिए पनि मेसीले क्लब फुटबल भने जारी राख्नेछन्। उनी इन्टर मियामीबाट खेलिरहेका छन्। हालै मात्र उनले क्लबका लागि सीएफ मोन्ट्रियलविरुद्ध ७–१ को सानदार जितमा चार गोल गरेका थिए।
संघर्षपछि आएको ऐतिहासिक सफलता
अर्जेन्टिनाका लागि मेसीको यात्रा सधैं सहज भने थिएन। लामो समयसम्म राष्ट्रिय टोलीसँग ठूलो उपाधि जित्न नसकेको भन्दै उनी आलोचनाको केन्द्रमा रहन्थे।
सन् २०१६ मा चिलीविरुद्ध कोपा अमेरिका फाइनलमा अर्जेन्टिना पेनाल्टी सुटआउटमा पराजित भएपछि मेसीले पहिलोपटक राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गरेका थिए। उक्त खेलमा उनले पेनाल्टी मिस गरेका थिए।
तर, उनले पछि राष्ट्रिय टोलीमा पुनरागमन गरे र त्यसपछि अर्जेन्टिनालाई लगातार ठूला सफलता दिलाए। सन् २०२१ र २०२४ मा कोपा अमेरिका तथा २०२२ मा विश्वकप जित्दै उनले आफ्नो अन्तर्राष्ट्रिय करिअरलाई ऐतिहासिक उचाइमा पुर्याए।
बार्सिलोना, पेरिस सेन्ट–जर्मेन र इन्टर मियामीबाट क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएका मेसी पछिल्ला दुई सिजनमा मेजर लिग सकर (एमएलएस) का लगातार दुईपटकका सर्वोत्कृष्ट खेलाडीसमेत बनेका छन्।
आफ्नो विदाइ सन्देशमा मेसीले अर्जेन्टिनाका समर्थकलाई विगत २० वर्षमा दिएको माया र समर्थनका लागि धन्यवाद दिएका छन्।







-1788059680773.webp&w=3840&q=75)





-1788105755828.jpeg&w=3840&q=75)