काठमाडौं । नेपाल भलिबल संघले काभा पुरुष भलिबल च्यालेन्ज खेल्ने राष्ट्रिय भलिबल टिमको बिदाई गरेको छ ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर संघले भीम ओली नेतृत्वको नेपाली भलिबल टिमको बिदाई गरेको हो ।
राखेपका निमित्त सदस्य सचिव प्रकाश कुसारीले नेपाली टिमको बिदाई गरेका थिए ।
उनले श्रीलंकामा पदक जित्नका लागि नेपाली टिमलाई शुभकामना दिएका थिए । सरकारले नीजि क्षेत्रको लगानी खेलकुदमा ल्याउन पहल गरिरहेको बताउँदै निमित्त सदस्य सचिव कुसारीले एसियाडको नतिजाले नयाँ सिराबाट खेलकुदलाई अघि बढाउने अवस्थामा राखेप पुगेको उल्लेख गरे ।
संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले निकै दुख गरेर राष्ट्रिय भलिबल टिमलाई अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी गराईएको उल्लेख गर्दै कोर्टमा रहदाँ जिम्मेवार भएर प्रर्दशन गर्न खेलाडीलाई शुभकामना दिए ।
उनले भने, ‘कहिले काही जितको नजिक पुगेर खेल गुमाउनु परेको छ । यस्तो हुदाँ पक्कैपनि पिडा हुन्छ । मानसिक रुपमा कमजोर भएर यस्तो भएको हो कि भन्ने लाग्छ । कोर्टमा रहदाँ खेलाडीले जिम्मेवारपूर्ण तरिकाले सोचेको खण्डमा नेपालले अन्तराष्ट्रिय पदक हासिल गर्न सक्छ ।’
नेपाली टिम उपाध्यक्ष भीम ओलीको नेतृत्वमा पर्सी आईतबार कोलम्बो प्रस्थान गर्नेछ । हान अबिङ मुख्य प्रशिक्षक रहेको टिममा भरत यादव र भरत शाह सहायक प्रशिक्षक छन् ।
मानबहादुर श्रेष्ठको कप्तानी रहने नेपाली टिममा धिरज बस्नेत, बिनोद चन्द, रविन चन्द, सफल बिके, विशाल बिके, सम्राट भण्डारी, टेकराज अवस्थी, धुव्रबहादुर खड्का, मनिष मानन्धर, हेमन्तबहादुर मल्ल रहेका छन् ।