काठमाडौं । नेपाली तेक्वान्दो प्रशिक्षक एवं राष्ट्रिय रेफ्री तथा युएईको पहिलो नेपाली राष्ट्रिय रेफ्री जगन अधिकारीलाई नुवाकोटको पहिलो सामुदायीक रेडियो नुवाकोट एफएमले सम्मान गरेको छ ।
एफएमको १५ औं बार्षिक साधारणसभाको अवसरमा नुवाकोट विदुरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरीले अधिकारीलाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरेका हुन् ।
नेपाली तेक्वान्दो प्रशिक्षक एवं राष्ट्रिय रेफ्री तथा संयुक्त अरब इमिरेट्स युएइमा तेक्वान्दो खेलको पहिलो राष्ट्रिय रेफ्री बन्न सफल भएकोमा अन्तर्राष्ट्रियस्तरमा समग्र नुवाकोट जिल्ला र देशकै नाम उच्च बनाउन सफल भएकोमा विदुर नगरपालिका ८ निवासी जगन अधिकारीलाई सम्मान गरेको हो ।
नुवाकोट तेक्वान्दो डोजाङबाट २०६० सालमा खेल जिवन सुरु गरेका जगन राष्ट्रिय स्तरसम्म खेल्दै २०६३ सालमा तेक्वान्दो प्रशिक्षक बनेका थिए । २०६६ सालमा राष्ट्रिय रेफ्री हुन सफल उनले २०७८ सालबाट युएईमा पहिलो नेपाली तेक्वान्दो राष्ट्रिय रेफ्री बन्न सफल भएका थिए ।
अन्तराष्ट्रिय रुपमा देश र जिल्लाको नाम राख्न सफल अधिकारीको योगदानको कदर गर्दै सम्मान गरिएको एफएमका स्टेशन प्रबन्धक श्रीराम अधिकारीले बताए ।
अधिकारी हाल जीवन यापनको सिलसिलामा दुवईमा कार्यरत रहेका छन् ।
सोही समारोहमा लोकगायक स्रस्टा बलराम अधिकारीलाई पनि सम्मान गरेको थियो । साहित्य सङ्गीतकलामा पोख्त भई कुरीति, कुसंस्कारविरुद्ध तथा सामाजिक समानताको लागि आवाज बुलन्द पारी लोकगीत संगितको क्षेत्रमा योगदान पुर्याएको भन्दै अधिकारीलाई सम्मान गरिएको हो ।