काठमाडौं । एसियाली खेलकुद अन्तर्गत रग्बी सेभेन्समा नेपालको चुनौती समाप्त भएको छ । समूह ‘डि’ मा नेपालसहित युएइ, चीन र अफ्गानिस्तान रहेका थिए । नेपालले समूह चरणको तीनै खेल आइतबारै खेलेको थियो । तीनै खेलमा नेपाल पराजित भयो ।
युएइले नेपाललाई ५५–७ ले पराजित ग¥यो । नेपालका लागि विक्रम पुरीले १ कन्भर्सनबाट २ तथा पुजन फेवालीले १ ट्राइबाट ५ स्कोर गरे । त्यस्तै आयोजक चीनले नेपाललाई ६५–० तथा अफ्गानिस्तानले नेपाललाई ४१–० ले हरायो । नेपालबाट पुरुष रग्बी टोली मात्र सहभागी छ ।
यस्तै, हाङझाव एसियाडको उसुमा १३ औं सागका स्वर्ण विजेता विजय सिन्जाली थाउलोको छाङछ्वानमा समग्रमा सातौं स्थानमा रहे । विजयले ९ दशमलव ७०३ अंक ल्याउदै १४ खेलाडी सहभागी उक्त स्पर्धामा सातौं भएका हुन् ।
यस विधामा स्वर्ण जितेका चीनका सुन पेयुनले ९ दशमलव ८४० अंक ल्याए । रजत विजेता इन्डोनसियाका मार्भेलो जाभियरले ९ दशमलव ७८६ अंक र कांस्य विजेता मकाउका ची कुवानले ९ दशमलव ७६० ल्याए । सबिता राईले ८ दशमलव ७९६ अंक ल्याउँदा उनी १४ औं स्थानमा खुम्चिइन् ।
उसुको सान्सौं फाइटमा एलिना चौधरी र रोहित चुनारो पराजित भए । महिला ५२ केजी तौलसमूहको क्वार्टरफाइनलमा एलिना इरानकी मानसो¥यान इलाहेसँग पराजत भइन् । रोहित पनि पुरुष ५६ केजी तौलसमूहको क्वार्टरफाइनलमा किर्गीस्तानका एमानबेकोभसँग अभाजबेकसँग २–० ले पराजित भए ।
सान्सौंकै पुरुष ६० केजीमा नेपालका पदम राई लाओसका साइबोन्फेङसंग २–० तथा ६० केजीमा नेपालका मंगलप्रसाद थारु किर्गिस्तानका ओमुरजाकोभ अस्काटसंग क्वाटरफाइनलमा पराजित भएपछि पदक कम्तीमा कांस्य पदक निश्चित गर्नबाट चुके ।
यस्तै, सुटिङको महिला १० मिटर एयर राइफलको ६४० पूर्णाङकमा नेपालका शिल्शा भण्डारीले ६१६ दशमलव ९ तथा सुस्मिता नेपालले ६०७ दशमलव ९ अंकको प्रदर्शन गरे । सुटिङमा नेपालबाट २ महिला खेलाडी मात्र सहभागी छन् ।