काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य–सचिव टंकलाल घिसिङ चीनको हाङझाव प्रस्थान गरेका छन् ।
१९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीका सेभ दि मिसन समेत रहेका घिसिङ बुधबार बिहान चीन प्रस्थान गरेका हुन् ।
सदस्य–सचिव घिसिङलाई राखेपका निमित्त सदस्य–सचिव प्रकाशकुमार कुसारी र प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्लले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।
हाङझाव एसियाडमा सहभागी हुन टेबलटेनिस, फेन्सिङ र सुटिङ टोली पनि बुधबारै चीन प्रस्थान गरेको छ । हाङझाव एसियाड असोज ६ गतेदेखि सुरु हुँदैछ ।
यस्तै, सदस्य सचिव घिसिङले राखेप बोर्ड सदस्य कुसारीलाई निमित्त सदस्य सचिवको जिम्मेवारी दिएका छन् । राखेपको नीतिगत बाहेक दैनिक प्रशासनीक कार्य हेर्ने गरि कुसारीलाई निमित्तको जिम्मेवारी दिएका हुन् ।
घिसिङको अनुपस्थितीमा कुसारीले निमित्तको जिम्मेवारी सम्हाल्नेछन् । कुसारी माओवादी निकट खेलकुद महासंघका केन्द्रिय उपाध्यक्ष समेत हुन् ।