पोखरा । लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता शुक्रबार सुरु भएको छ । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स)को आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन चार खेल सम्पन्न भएको छ ।
संस्थाको २७ औं बार्षिकोत्सव एवं २५ औ संस्करणको लामाचौर तीज महोत्सवको सन्दर्भमा भएको पुरुषतर्फको खेलमा गण्डकीले गल्कोट स्पोर्टस क्लवलाई ३–१ को सेटमा हराउन सफल भयो । इन्द्र राज्य लक्ष्मी माविको खेल मैदानमा सुरु खेलमा गण्डकीले पहिलो सेट २५–२१ र दोश्रो सेट २६–२४ आफ्नो पक्षमा पारेपनि तेस्रो सेट २४–२६ ले गुमाउन पुग्यो । चौथो सेटमा २५–१९ को जित निकाल्यो ।
यस्तै, दोस्रो खेलमा नेपाल पुलिसले मणिमुकुन्द भलिबल क्लबलाई ३–१ को सेटमा हरायो । नेपाल पुलिस क्लबले पुनरागमन जित निकाल्यो पहिलो सेट १६–२५ ले गुमाएको पुलिसले दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पा¥यो । तेस्रो सेट २५–१९ र चौथो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै जित हासिल गरेको हो । पुलिसले तीन अंक जोडेको छ ।
प्रतियोगिताको तेस्रो खेलमा एपिएफले गल्कोटलाई सोझो सेटमा पाखा लगायो । एपिएफले २५–२३, २५–२३ र २५–१८ को सेटमा सहजै हरायो । एपिएफको तीन अंक रहँदा गल्कोट अंक विहिन हुँदै तालिकाको पुछारमा छ ।
अत्यन्तै प्रतिस्पर्धात्मक बनेको गण्डकी र मणिमुकुन्द बीचको चौथो खेल ३–२ ले मणिमुकुन्दको पक्षमा रह्यो । पहिलो सेट गण्डकीले २५–२० ले आफ्नो पक्षमा पा¥यो । दोस्रो सेट २१–२५ ले गुमाएको गण्डकीले तेस्रो सेट पनि १७–२५ ले गुमायो । चौथो सेट २५–१७ ले गण्डकीको पक्षमा रह्यो । पाँचौ सेटमा मणिमुकुन्दले १५–१२ ले आफ्नो पक्षमा पार्दै पहिलो जित निकाल्यो । योसंगै गण्डकीको चार अंक रहेको छ भने मणिमुकुन्दले दुई अंक जोडेको छ ।
पहिलो दिन पाँच खेल हुने भनिएपनि एपिएफ र पुलिसबीचको खेल हुन सकेन । खेलमा प्रकाश नपुग्ने भएपछि खेल नभएको र शनिबार विहान हुने अफिसियलले जानकारी दिएको छ । शनिबार सात खेल हुनेछन् । प्रतियोगिता राउन्ड रोविन लिगको आधारमा खेलाइएको छ ।
प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीको एपीएफ, न्यू डायमण्ड क्लव तथा एभरेष्ट भलिबल क्लव बुटवलले सहभागिता छ । पुरुषतर्फ गण्डकी प्रदेश, विभागिय टोली नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपीएफ, मणिमुकुन्द क्लव बुटवल गरि पाँच टिमको सहभागिता छ ।
प्रतियोगितामा महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतिय हुने टिमले क्रमशः नगद रु १ लाख ५० हजार १ सय ११, १ लाख १ सय ११ र ५० हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।