काठमाडौं । ११ औँ संस्करणको कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता भाद्र २७ गतेदेखि आयोजना हुने भएको छ ।
नेपालस्थित दक्षिण कोरियाली दुताबास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा हुने प्रतियोगिता भाद्र २७ देखि ३१ गतेसम्म सञ्चालन हुने भएको हो ।
आईतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक संस्थाले प्रत्येक दुई वर्षमा हुने प्रतियोगिताका विगतका दश वटा संस्करण अत्यन्तै उत्साहजनक सहभागिता र सफलताका साथ सम्पन्न भएको बताएको छ ।
प्रतियोगिताको ११ औँ संस्करणमा पहिलो पटक भारत र बंगलादेशका खेलाडी समेत सहभागी हुने भएका छन् ।
प्रतियोगितामा ७ सय ११ महिला र १ हजार ६७ पुरुष गरी १ हजार ७ सय ७८ जना सिनियर तथा जुनियर खेलाडी सहभागि हुने पक्का भएको छ ।
पुम्सेतर्फ २५ र ग्यरोगी (फाईट) तर्फ ३२ गरी जम्मा ५७ स्वर्ण पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितालाई सफल बनाउन आयोजकले नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्दको संयोजकत्वमा ३५ सदस्यीय आयोजक समिति गठन गरेको छ । प्रतियोगिता सञ्चालन गर्न ६० जना निर्णायक, १५ जना प्राविधिक र ३५ जना स्वयम्सेवक परिचालन गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको कुल लागत करिब ३५ लाख रुपैयाँ रहेको छ । जसमध्य कोरियाली दुताबासबाट करिब ५ हजार अमेरीकी डलर, खेलाडी दर्ताबाट करिब १७ लाख र बाँकी रकम नेपाल तेक्वान्दो संघले व्यवस्थापन गर्ने बताईएको छ ।