काठमाडौं । तीज महोत्सवसँगै आयोजना हुदै आएको लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिता यस वर्ष समेत हुने भएको छ ।
नव आर्दश सामुदायिक विकास समाज लामाचौर पोखराले आयोजना गर्ने प्रतियोगितामा भाद्र ३०, ३१ र असोज १ गते इन्द्र राज्य लक्ष्मी मा.वि लामाचौरको प्राङ्गणमा आयोजना हुने भएको हो ।
महिलातर्फ दुई विभागीय टिम सहित चार टिमले खेल्नेछन् भने पुरुषतर्फ दुई विभागीय सहित ५ टिम सहभागी हुने आयोजकले जनाएको छ ।
महिला स्पर्धामा न्युडायमण्ड, एपीएफ, नेपाल पुलिस र एभरेष्ट क्लब खेल्नेछन् भने पुरुषतर्फ मणिमुकुन्द, एपीएफ, पुलिस, गल्कोट र गण्डकी प्रदेशले सहभागीता जनाउने आयोजकले जनाएको छ ।
पोखरामा आईतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे सम्पुर्ण जानकारी गराईएको हो ।
प्रतियोगिताको विजेताले समान १ लाख ५० हजार, दोस्रोले १ लाख १ सय, तेस्रोले ५० हजार एक सय रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । भलिबल प्रतियोगिताको औपचारिक उद्घाटन भाद्र ३० गते हुनेछ भने समापन असोज १ गते राखिएको छ । खेलहरु भने भाद्र २९ गतेबाट सुरु हुनेछ ।
पहिलो दिन खेल हेर्न सय, दोस्रो र तेस्रो दिन २ सय र फाइनलका खेलहरु हेर्न ३ सय रुपैयाँ टिकट राखिएको छ । खेल अवलोकनका लागि आयोजकले ४ हजार दर्शक क्षमताको अस्थायी प्यारापिट व्यवस्थान गरिएको जनाएको छ ।
प्रतियोगितामा सहभागी टिमको यातायात खर्च, आवास र खाना खर्च आयोजकले ब्यवस्थापन गर्ने बताईएको छ ।