काठमाडौं । सातौं विश्व कुङफु च्याम्पियनसिपमा सहभागी हुन नेपाली उमा कुङफु टोली बुधबार थाइल्यान्डको फुकेट प्रस्थान गरेको छ ।
डिसेम्बर २८ देखि जनवरी २ तारिखसम्म हुने प्रतियोगितामा ९ खेलाडीले विभिन्न स्पर्धामा नेपालको चुनौती पेश गर्नेछन् । अन्तर्राष्ट्रिय कुङफु महासंघ (आईकेएफएफ) को आयोजनामा हुने प्रतियोगितामा कमल मगर, चिराग पौडेल, आयुब घिमिरे, अरायोन राई, सन्र्दौय गुरुङ, जीवन गुरुङ, गोविन गुरुङ, सुनबहादुर तामाङ र सियाङ तामाङले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङको नेतृत्वमा जाने टोलीको प्रशिक्षकमा सुकमान लामा, व्यवस्थापकमा भुपेन्द्र गुरुङ तथा अफिसियलमा रमेश महर्जन र मोतीप्रसाद अधिकारी छन् । अध्यक्ष लामाले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुका साथै प्रतियोगिता दौरान हुने आठौं अन्तर्राष्ट्रिय उसु कल्चर एक्सचेन्ज कन्फ्रेन्समा पनि सहभागिता जनाउने छन् । अध्यक्ष लामा आईकेएफएफ नेपाल च्याप्टरका अध्यक्ष समेत हुन् ।
टोलीलाई नेपाल उमा कुङफु संघका उपाध्यक्ष, अन्तर्राष्ट्रिय निर्णायक एवं आईकेएफएफ नेपाल च्याप्टरका महासचिव संजितकुमार राई र उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय स्वर्ण विजेता मुन्नी सुवेदीले बिदाइ गरे ।