काठमाडौं । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको ब्याडमिन्टनमा सहभागी हुने नेपाली टोलीलाई बुधबार केल्मीको ट्रयाक सुट प्रदान गरिएको छ ।
अस्ट्रेलियामा बसोवास गर्ने ब्याडमिन्टन प्रेमी मुक्ति रोका र टीका रोकाले प्रोत्साहन स्वरुप प्रायोजन गरेको ट्रयाक सुट ८ खेलाडी र २ प्रशिक्षकलाई प्रदान गरिएको छ ।
तालिम तथा प्रशिक्षण विभागका निर्देशक समेत रहेका १९ औं एसियाली खेलकुद तयारी समितिका सचिव प्रचण्ड शर्मा र नेपाल ब्याडमिन्टन संघका संयोजक रामजीबहादुर श्रेष्ठले टोलीका सदस्यलाई एक कार्यक्रमबीच ट्रयाक सुट हस्तान्तरण गरे ।
असोज ६ गतेदेखि सुरु हुने हाङझाव एसियाडमा नेपालबाट ब्याडमिन्टनमा समान ४–४ पुरुष र महिला खेलाडी सहभागी हुँदै छन् ।
पुरुषमा प्रिन्स दाहाल, सुनिल जोशी, विष्णु कटुवाल र जीवन आचार्य रहेका छन् । महिलामा रसिला महर्जन, निता लम्साल, अनुमाया राई र नङशल तामाङ छन् ।
एसियाडको ब्याडमिन्टनमा नेपालको ठूलो सफलता क्वाटरफाइनलसम्म पुग्नु रहेको मुख्य प्रशिक्षक योञ्जनले जानकारी गराए । इन्चोन र जकार्ता एसियाडमा पुरुष टिम इभेन्टमा नेपालले क्वाटरफाइनल यात्रा तय गरेको थियो ।