काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लबमाथि जित निकाल्दै आयोजक किंग्स क्लब दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शनिबार भएको खेलमा किंग्सले एपीएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिका लागि नेपाल पुलिससँगको भेट पक्का गरेको छ ।
किंग्सले २५-१८, २५-२२ र २६-२४ अन्तरले जित हात पारेको हो ।
शुक्रबार नै हुनुपर्ने आयोजक किंग्स क्लब काठमाडौं र विभागीय नेपाल एपिएफ क्लबबीचको दोस्रो सेमिफाइनल खेल निरन्तरको वर्षाका कारण स्थगित भएको थियो ।
तेस्रो सेट चलिरहँदा वर्षा भएपछि खेल पुन सुचारु हुन सकेको थिएन ।
फाइनल खेल आईतबार बिहान साढे ११ मा सुरु हुनेछ ।
एपीएफले भने तेस्रो स्थानका लागि आइतबार नै गण्डकी प्रदेशसँग खेल्नेछ । पहिलो सेमिफाइनल खेलमा गण्डकी नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।
नेपाल भलिबल संघको स्विकृतीमा भएको यस प्रतियोगितामा संघले प्राविधिक सहयोग प्रदान गर्नेछ ।
प्रतियोगिताको अनुमानित बजेट १७ लाख रहेको छ । आयोजक क्लबका महासचिव लक्ष्मण काप्रीका अनुसार पुरस्कार तर्फ मात्र ४ लाख रकम खर्च हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टोलीले २ लाख २ हजार नगद प्राप्त गर्दा दोस्रो हुनेले १ लाख १ हजार नगद प्राप्त गर्ने छ । तेस्रो हुनेले नगद रु ५० हजार ५ सय र सान्त्वनाले रु २२ हजार २ सय प्राप्त गर्ने छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ८ हजार नगद पुरस्कार पाउँने छ । हरेक विधाका उत्कृष्ट खेलाडीले जनही ३ हजार नगद पुरस्कार पाउँने छ ।