काठमाडौं । दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगितामा गन्डकी प्रदेशले लगातार दोस्रो जित हात पार्दा विभागीय टोली नेपाल एपीएफ क्लबले विजयी सुरुआत गरेको छ ।
खराब प्रकाशका कारण नेपाल पुलिस र नेपाल एपीएफबीचको खेल चौथो सेटमा चल्दै गर्दा रोकिएको छ । दुवैको खेल बिहीबार पहिलो सेटबाट सुरु हुनेछ ।
बुधबारको पहिलो खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबले जित हात पारेको हो । आफ्नो पहिलो खेलमा कोशी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । एपीएफ २५-१६, २५-२० र २५-१६ ले विजयी भएको थियो ।
समय अभावका कारण मंगलबार हुन नसकेको एपीएफ र कोशीको खेल आज भएको थियो ।
दोस्रो खेलमा खोटाङ नेशनल युवा संघले लगातार दोस्रो हार व्यहोर्ने क्रममा आयोजक किंग्स क्लब काठमाडौंले पहिलो जित हात पारेको थियो ।
किंग्स क्लब २५-१६, २२-२५, २५-१२ र २५-२१ सेटमा विजयी भएको थियो ।
आज भएको तेस्रो खेलमा जीएम समाजलाई पराजित गरि गन्डकी प्रदेशले जित हात पारेको छ । जीएमलाई गन्डकीले ३-२ को सेटमा पराजित गरेको हो ।
पहिलो र दोस्रो सेट १७-२५ र २६-२८ ले हारेको गन्डकीले लगातार तीन सेटमा जित हात पारेर खेल आफ्नो पक्षमा पार्यो । तेस्रो, चौथो र पाँचौ सेट गन्डकीले २५-१७, २६-२४ र १७-१५ मा जित हात पार्यो ।
आजको चौथो खेलमा पुलिस र एपीएफको खेल चौथो सेटमा स्थगित भएको थियो । खराब प्रकाशका कारण स्थगित खेल बिहीबार पहिलो सेटबाट हुनेछ ।
आजको पाँचौ खेल समय अभावका कारण भोली हुने गरि स्थगित भयो । आज हुन नसकेको दुई खेल सहित बिहीबार छ खेल हुनेछ ।
प्रतियोगितामा ८ वटा टोलीको सहभागीता रहने छ । सहभागी टोलीलाई समूह ए र बी मा विभाजन गरिएको छ ।
समूह ए मा आयोजक किंग्स क्लब सहित खोटाङ नेशनल युवा संघ, गण्डकी प्रदेश र जीएम समाज रहेका छन् ।
यस्तै समूह बी मा विभागीय टोलीहरु नेपाल पुलिस र नेपाल एपीएफ क्लब तथा कोशी प्रदेश र नेपाल गणतान्त्रिक महासंघ रहेका छन् ।
प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गर्ने छन् ।
नेपाल भलिबल संघको स्विकृतीमा भएको यस प्रतियोगितामा संघले प्राविधिक सहयोग प्रदान गर्नेछ ।
प्रतियोगिताको अनुमानित बजेट १७ लाख रहेको छ । आयोजक क्लबका महासचिव लक्ष्मण काप्रीका अनुसार पुरस्कार तर्फ मात्र ४ लाख रकम खर्च हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टोलीले २ लाख २ हजार नगद प्राप्त गर्दा दोस्रो हुनेले १ लाख १ हजार नगद प्राप्त गर्ने छ । तेस्रो हुनेले नगद रु ५० हजार ५ सय र सान्त्वनाले रु २२ हजार २ सय प्राप्त गर्ने छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ८ हजार नगद पुरस्कार पाउँने छ । हरेक विधाका उत्कृष्ट खेलाडीले जनही ३ हजार नगद पुरस्कार पाउँने छ ।
प्रतियोगिताका सबै खेल नयाँ बसपार्कमा रहेको ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुनेछ ।