काठमाडौं । दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब, गन्डकी प्रदेश र जीएम समाजले विजयी सुरुआत गरेको छ ।
मंगलबारबाट सुरु प्रतियोगिताको पहिलो दिन वर्षाका कारण सुरु हुन ढिला भएको थियो । ढिला सुरु हुँदा पहिलो दिन ४ मध्ये ३ खेल मात्र भयो ।
मंगलबारबाट सुरु प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले जित हात पारेको हो । पुलिस क्लबले नेपाल गणतान्त्रिक महासंघलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
पुलिसले महासंघलाई २५-१४,२५-१३ र २५-२० ले पराजित गरेको हो ।
दोस्रो खेलमा खोटाङ नेशनल युवा संघलाई पराजित गरि जीएम समाजले सुखद सुरुआत गरेको थियो ।
जीएम समाज २५-२०, २०-२५, २५-१८ र २५-२३ सेटमा विजयी भएको थियो ।
आज भएको तेस्रो खेलमा आयोजक किंग्स क्लब काठमाडौंलाई पराजित गरि गन्डकी प्रदेशले सुखद सुरुआत गरेको छ । आयोजक किंग्स क्लबलाई गन्डकीले ३० को सोझो सेटमा पराजित गरेको हो ।
२५-१७, २५-१६ र २५-२३ को सेटमा गन्डकी विजयी भएको हो ।
आजको चौथो खेल समय अभावका कारण हुन सकेन । आज हुन नसकेको खेल सहित बुधबार पाँच खेल हुनेछ ।
प्रतियोगितामा ८ वटा टोलीको सहभागीता रहने छ । सहभागी टोलीलाई समूह ए र बी मा विभाजन गरिएको छ ।
समूह ए मा आयोजक किंग्स क्लब सहित खोटाङ नेशनल युवा संघ, गण्डकी प्रदेश र जीएम समाज रहेका छन् ।
यस्तै समूह बी मा विभागीय टोलीहरु नेपाल पुलिस र नेपाल एपीएफ क्लब तथा कोशी प्रदेश र नेपाल गणतान्त्रिक महासंघ रहेका छन् ।
प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गर्ने छन् ।
नेपाल भलिबल संघको स्विकृतीमा भएको यस प्रतियोगितामा संघले प्राविधिक सहयोग प्रदान गर्नेछ ।
प्रतियोगिताको अनुमानित बजेट १७ लाख रहेको छ । आयोजक क्लबका महासचिव लक्ष्मण काप्रीका अनुसार पुरस्कार तर्फ मात्र ४ लाख रकम खर्च हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टोलीले २ लाख २ हजार नगद प्राप्त गर्दा दोस्रो हुनेले १ लाख १ हजार नगद प्राप्त गर्ने छ । तेस्रो हुनेले नगद रु ५० हजार ५ सय र सान्त्वनाले रु २२ हजार २ सय प्राप्त गर्ने छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ८ हजार नगद पुरस्कार पाउँने छ । हरेक विधाका उत्कृष्ट खेलाडीले जनही ३ हजार नगद पुरस्कार पाउँने छ ।
प्रतियोगिताका सबै खेल नयाँ बसपार्कमा रहेको ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुनेछ ।