काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो नयाँ प्रतीक चिन्ह (लोगो) तयार गरेको छ । एन्फाले खुल्ला छनोट प्रतिस्पर्धाबाट नयाँ लोगोको टुङ्गो लगाएको हो ।
एन्फाले छनोट गरेको नयाँ लोगोलाई एसियाली फुटबल फेडेरसन (एएफसी) ले समेत स्वीकृति दिएको छ । एएफसीले आफ्नो वेबसाइटमा समेत एन्फाको नयाँ लोगो प्रयोग गरिसकेको छ ।
'हामीले नयाँ लोगो एएफसीलाई पठाएको थियौं । स्वीकृति भएर आएको छ,' एन्फाका महासचिव इन्द्रमान तुलाधरले खेलपाटीसंग भने, 'एएफसीले नयाँ लोगो फिफालाई पठाउन भनेको छ । हामीले फिफालाई पठाई सकेका छौ । चाडै नयाँ लोगो सार्वजनिक गर्छौं ।'
नयाँ लोगोका लागि गत साउनमा खुल्ला छनोटका लागि विज्ञापन निकालेको थियो । छनोट हुने लोगोका लागि एन्फाले ५० हजार पुरस्कार समेत राखेको थियो ।
एन्फाले प्रदेश र राष्ट्रिय विविधता झल्काउने ढाचामा तयार भएको लोगो छनोट गरेको महासचिव तुलाधरले जानकारी दिए । तुलाधरले एन्फाको लोगो डिजाइन गर्नेको नाम र डिजाइन वापतको पुरस्कार एक कार्यकम घोषणा गरेर जानकारी गराउने बताए ।
एन्फाको लोगो दोस्रो पटक परिवर्तन हुन लागेको हो । यस अघि बिस २०६२/६३ को जनआन्दोलन पछि परिवर्तन गरिएको थियो । त्यसबेला हाल रहेको लोगोको मध्ये भागमा रहेको श्रीपेच हटाएर फुटबल राखिएको थियो ।
यस्तै महासचिब तुलाधरले नेपाली राष्ट्रिय टोलीको जर्सी समेत तयार भएको बताए । तुलाधरले नेपाली राष्ट्रिय टोलीको नयाँ जर्सी एकै ढाँचाको रहेको बताए । नयाँ जर्सी सधैको झैँ रातो र निलो रङमा हुनेछ । तर, जर्सीको ढाँचा एकै हुनेछ ।
यसअघि नेपाली टोलीले फरक फरक कम्पनिको फरक फरक ढाँचाको जर्सी प्रयोग गर्दै आइरहेको थियो ।