काठमाडौं । सातौं संस्करणको पीएम कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग प्रतियोगिता आज शनिबारबाट सुरु हुदैछ ।
नेपाल भलिबल संघको आयोनजामा सञ्चालन हुने प्रतियोगिता असार ३० गतेसम्म चल्नेछ । प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रतियोगितामा महिलामा ६ टिम र पुरुषमा ७ टिम समावेश गरिएको छ । महिलातर्फ नेपाल पुलिस क्लब, न्यु डायमण्ड स्पोर्टस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र एभरेष्ट गरि ६ टिम खेल्नेछन् ।
पुरुषमा हेल्प नेपाल, आर्मी, एपीएफ, पुलिस, गण्डकी, दावली मिलन क्लब र शैलुङ बागढुङ्गा गरि ७ टिमले प्रतिस्पर्धा गर्ने टुङ्गो लागेको छ ।
उद्घाटन दिनको पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र गण्डकी प्रदेश तथा पुरुषमा त्रिभुवन आर्मी र शैलुङ्ग बागढुङ्गा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
असार ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मुख्य सहयोग गरेको हो ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान प्राप्त गर्ने टिमहरुले क्रमशः ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार प्राप्त गर्ने छन् ।
त्यस्तै उक्त प्रतियोगितामा पुरुष तथा महिलातर्फ सर्वोत्कृष्ट खेलाडीले ३५-३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिबेरो र प्रशिक्षकले जनही १५-१५ हजार प्राप्त गर्ने नेपाल भलिबल संघले जनाएको छ ।