काठमाडौं । निन्जा उसु क्वानका विपन थापा र कालभैरव उसु क्वानकी अस्मिता श्रेष्ठले तेश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगितामा स्वर्ण जितेका छन् ।
छाङ छ्वानको पुरुषमा विपन तथा महिला अस्मिताले स्वर्ण जितेका हुन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको सेमी कभर्डहलमा विपनले ८ दशमलव ५५ अंक जोडे । बुलबुले उसु क्वानका सुरेश चौधरी ८ दशमलव ४३ अंकसाथ दोश्रो तथा कैलाली उसु क्वानका आयुश चौधरी ८ दशमलव ४० अंकसाथ तेश्रो भए ।
अस्मिताले ८ दशमलव ३८ अंक जोडिन् । बुलबुलेकी आशा शाही ८ दशमलव २१ अंकसहित दोश्रो तथा शिअ उसु क्वानकी दीपिका चौधरी ६ दशमलव ७० अंकसहित तेश्रो बने ।
नेपाल उसु महासंघद्वारा आयोजित प्रतियोगिताको सान्सौंतर्फ पुरुष ४८ केजीमा शिअका रोहित गाहा मगर र काठमाडौं उसु क्वानका मिलन राई फाइनलमा पुगे ।
कालभैरवका सुनिल तामाङ र रामेछाप उसु क्वानका लिबन सुनुवारले कांस्य जिते । पुरुष ५६ काठमाडौंका विशाल विष्ट र ड्रागन उसु क्वानका आशिष तामाङले फाइनलमा स्थान सुरक्षित गरे ।
वरियर उसु क्वानका पूर्ण तामाङ तथा किन्डर गार्डेन उसु क्वानका कृतिम श्रेष्ठ तेश्रो भए ।