काठमाडौं । कीर्गिस्तानमा जारी काभा पुरुष भलिबल प्रतियोगितामा अन्तिम खेलमा पनि नेपालले पराजित भएको छ ।
आइतबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।
जारी प्रतियोगितामा नेपालको यो छैटौं हार हो । प्रतियोगितामा नेपालले कुनै खेल जित्न सकेन ।
बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपाल उज्वेकिस्तानसँग २५–२१, २५–२२ र २५–२३ को सोझो सेटमा पराजित भएको छ ।
नेपाल यसअघि पहिलो खेलमा मंगोलिया, दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा इरानसँग चौथो खेलमा तुर्किमिनिस्तान र पाँचौ खेलमा आयोजक किर्गिस्तानको बी टोलीसँग पराजित भएको थियो ।
काभा पुरुष भलिबलमा नेपालसहित आयोजकको दुई टोली, इरान, मंगोलिया, तुर्किमिनिस्तान उज्वेकिस्तान गरी सात टोलीको सहभागिता रहेको छ ।
सिंगल राउन्ड रोबिनमा हुने प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि खेल्ने छन् ।