काठमाडौं । आयोजक कीर्तिपुर नगरपालिकाले कीर्तिपुर नगरपालिका अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेको छ ।
कीर्तिपुर कभर्डहलमा कीर्तिपुरले चन्द्रागिरी नगरपालिकालाई ९५–४० को फराकिलो अन्तरले पराजित गर्यो । कीर्तिपुरको जितमा आशिष थापा मगरले २८ अंक योदान गरे । चारै क्वाटरमा अग्रता बनाएको कीर्तिपुरले २३–७, १६–१५, ३०–१३ र २६–५ को प्रदर्शन गर्यो ।
अर्को खेलमा प्रनिश तिमिल्सिनाको २७ अंक सहयोगमा ललितपुरले भक्तपुरलाई ७१–६१ ले हरायो । पहिलो क्वाटरमा ९–१३ ले पछि परेको ललितपुरले दोश्रो र तेश्रोमा क्रमशः २७–१६ र २१–१७ को अग्रता बनाउदै जितका लागि आधार खडा गर्यो । चौथोमा ललितपुर १४–१५ ले पछि पर्यो ।
प्रतियोगिताको कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले एक कार्यक्रमबीच उद्घाटन गरे । मोफसलका २ सहित ८ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक विजयप्रकाश महर्जनले जनाएका छन् ।
शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ५० हजार र ३० हजार नगद पुरस्कार हात पार्ने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगदबाट पुरस्कृत गरिने छ ।