काठमाडौं । टिम ऋतिक र आईएसए नेपालले ट्रिटन एसइइ अपियर्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । ऋतिक ब्वाइज तथा आईएसए गर्ल्समा च्याम्पियन बने ।
ट्रिटन इन्टरनेसनल कलेजद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा ऋतिकले एसकेसीलाई १८–१७ को साँघुरोअन्तरले पराजित गर्यो ।
कोटेश्वरस्थित आयोजकको कोर्टमा भएको गर्ल्सको उपाधि भिडन्तमा आईएसएले बार्बो, भक्तपुरलाई १२–७ ले हरायो ।
ब्वाइजमा ऋतिकका सुमित खत्री तथा गर्ल्समा आईएसएका सन्ध्या डंगोल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेता तथा उपविजेता टोलीलाई नगद पुरस्कारसहित छात्रवृत्ति प्रदान गरिएको प्रतियोगिता संयोजक सुवास दर्शनले जनाएका छन् । ब्वाइजमा ३२ टिमले नकआउट तथा गर्ल्समा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।