काठमाडौं । माल्दिभ्समा सुरु बुधबारबाट भएको फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा हार व्यहोरेको छ ।
बुधबार माल्दिभ्सको मालेमा भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल भुटानसँग ६१-५५ ले हरायो ।
नेपालले २०१९ को १३ औं सागपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको हो । नेपालमाथि भुटानले पहिलो क्वाटरमा २१-१३ को अग्रता बनाएको थियो ।
सुरुमै ८ अंकले पछि परेको नेपालले त्यसपछिको दुई क्वाटरमामा पुनरागमन गर्ने प्रयास गरेको थियो ।
नेपालले दोस्रो क्वाटर १६-१५ र तेस्रो क्वाटरमा १३-१२ को अग्रता बनाएको थियो ।
तर, चौथो तथा निर्णायक क्वाटरमा नेपाल र भुटानले समान १३/१३ अंक जोडेपछि नेपाल समग्रमा ६१-५५ ले पराजित भयो ।
नेपालले दोस्रो खेल पाकिस्तानसँग बिहीबार खेल्नेछ । नेपालले बंगलादेशसँग शनिबार तेस्रो खेल खेल्नेछ।
यस्तै नेपालले लिगको आफ्नो अन्तिम खेल आउँदो आइतबार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ ।
जुन २२ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रको सहभागीता रहेको छ ।
प्रतियोगितामा नेपाल सहित माल्दिभ्स, बंगलादेश, भुटान र पाकिस्तानले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । शीर्ष दुई टोलीले फाइनल खेल्ने छ ।