काठमाडौं । भारतमा आयोजना हुने १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलको 'ड्र' आज बुधबार हुँदैछ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार च्याम्पियनसिपको 'ड्र' सार्वजनिक गरिने जनाएको छ ।
साफले च्याम्पियनसिपको 'ड्र' नेपाली समय अनुसार दिउँसो १२:४५ बजे सुरु हुने जनाएको छ ।
साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म बेंगलुरुमा हुनेछ ।
च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् ।
फिफाको प्रतिबन्धको कारण यस संस्करण श्रीलंकाले खेल्ने छैन् । तर, कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेल्ने छन् ।
यस अघि साफको १४ औं संस्करण बंगलादेशमा हुने तय थियो । तर, बंगलादेशले आयोजना गर्न नसक्ने भएपछि भारतमा प्रतियोगिता हुन लागेको हो ।
माल्दिभ्समा आयोजना भएको १३ औं साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो ।
नेपाल उपाधि भिडन्तमा भारतसँग ३-० ले पराजित भएको थियो ।