निजगढ । निजगढमा प्रथम गढिमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । प्रतियोगिता बारे निजगढमा सोमबार आयोजक नेपाल तेक्वान्दो संघ मधेश प्रदेशले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।
जेठ ४ गतेदेखि ६ गतेसम्म संचालन हुने प्रतियोगितामा भारत,बंगलादेश,भुटान,दक्षिण कोरिया,जापान,आयोजक मधेश प्रदेश तेक्वान्दो संघ र नेपालका अन्य ६ वटा प्रदेशका खेलाडीहरुको प्रतिस्पर्धा रहने पत्रकार सम्मेलन मार्फत नेपाल तेक्वान्दो संघ मधेशका अध्यक्ष पेमासिद्धि लामाले बताउनुभयो ।
प्रतियोगितामा ग्युरोगीतर्फ पुरुष ७ र महिला ६ गरी १३ तौल समुह र पुम्सेतर्फ जुनियर १० बर्षको सिंगल,१२ बर्ष डबल र १४ बर्षको ग्रुप गरी ३ तथा सिनियर पुम्सेतर्फ १८ बर्ष तल र माथि महिला पुरुष गरी ४ टिम गरी २० ईभेन्टमा प्रतियोगिता सञ्चालन हुने नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य गुरुप्रसाद गौतमले जानकारी दिनुभयो ।
निजगढ नगरपालिका र महागढिमाई नगरपालिकाको मुख्य सहयोगमा आयोजना हुने प्रतियोगिताको अनुमानित लागत ६० लाख रुपैंया रहेको नेपाल तेक्वान्दो संघ मधेशका महासचिव राजकुमार लामाले बताउनुभयो ।