काठमाडौं । नेपाल ट्राइयाथलन संघको आयोजनामा पोखरामा भएको दुवाथलनको पुरुषतर्फ युएईका साउद अलजावी र महिलातर्फको उपाधि भारतकी स्नेहल सुनिल जोशीले हात पारेका छन् ।
२०२३ एशियन ट्राईयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप अन्तरगत भएको दुवाथलन खेलमा साउदले ५ कि.मी. दौड, २० कि.मी. साईक्लिङ र २.५ कि.मी. दौडको दुरी ५९ मिनेट २७ सेकेन्ड र जोशीले १ घन्टा १२ मिनेट १९ सेकेन्डमा पुरा गर्दै उपाधि जितेका हुन् ।
पुरुषतर्फ नेपालका हिमाल टमाटाले ५९ मिनेट ४७ सेकेन्ड र बशन्त थारुले १ घन्टा २ मिनेट ९ सेकेन्डमा दुरी पुरा गर्दै क्रमशः दोश्रो र तेश्रो स्थान हात पारे । महिलातर्फ भारतकी संजना सुनिल जोशी १ घन्टा १३ मिनेट २५ सेकेन्ड समयका साथ दोश्रो र नेपालकी हुमी बुढा मगर १ घन्टा १४ मिनेट ३० सेकेन्ड समयका साथ तेश्रो भए ।
बिजयी खेलाडीहरुलाई पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पूर्व गण्डकी प्रदेश साँसद दीपक कोईराला, नेपाल ओलम्पिक कमिटिका महासचिव एवं ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ, कास्की जिल्ला खेलकुद विकास समितिका प्रमुख डि.बि. नेपाली, पत्रकार केशव पाठक लगायतले विजयी खेलाडीहरुलाई मेडल, पुष्प गुच्छा र प्रमाण पत्र वितरण गरेका थिए ।