काठमाडौं । भारतमा आयोजना हुने १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आगामी असारमा आयोजना हुने पक्का भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बिहीबार बसेको कार्यकारी बैठकले असारको मितिलाई अनुमोदन गरेको छ ।
साफले अनुमोदन गरेसँगै साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म बेंगलुरुमा हुनेछ ।
यस्तै प्रतियोगितामा आठ टोली सहभागिता गराउन बैठकमा छलफल भएको साफले जनाएको छ ।
साफ भन्दा बाहिरको टोलीलाई आमन्त्रण गर्नेबारे छलफल भएको साफले जनाएको छ ।
यस अघि साफको १४ औं संस्करण बंगलादेशमा हुने तय थियो । तर, बंगलादेशले आयोजना गर्न नसक्ने भएपछि भारतमा प्रतियोगिता हुन लागेको हो ।
यस संस्करणको साफ च्याम्पियनसिपमा ७ राष्ट्रले सहभागिता जनाउदै आएका छन् । अघिल्लो संस्करणमा भुटान र पाकिस्तानले सहभागिता जनाएको थिएन ।
माल्दिभ्समा आयोजना भएको १३ औं साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो ।
नेपाल उपाधि भिडन्तमा भारतसँग ३-० ले पराजित भएको थियो ।