काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिताको टिकेटिङ पार्टनरको रुपमा खल्ती एपसँगै सम्झौता गरेको छ ।
एन्फाले शुक्रबार खल्ती एपसँग टिकट बिक्री सम्बन्धि सम्झौता गरेको छ ।
एन्फाका कार्यवाहक महासचिव तथा सहायक महासचिव दामोदर भट्टराई र खल्तीका प्रमुख मार्केटिङ अधिकृत अविनाश गुप्ताले सम्झौतामा हस्ताक्षर गरे ।
सम्झौता अनुसार थ्री नेसन्सको टिकट खल्ती एपबाट किन्न सकिनेछ ।
थ्री नेसन्स कप चैत ८ देखि १७ गतेसम्म आयोजना हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपालसहित भुटान र लाओसको सहभागिता रहने छ ।
सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।
पहिलो खेलमा नेपालले लाओससँग चैत ८ गते खेल्नेछ । चैत ११ गते भुटान र लाओस भिड्ने छन् ।
त्यस्तै चैत १४ गते नेपाल र भुटान भिड्ने छन् ।
नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको प्रशिक्षणमा प्रतियोगिता खेल्नेछ ।
प्रतियोगितामा एन्फाले दुई फरक टिकट दर राखेको छ । सामान्य प्यारापिटतर्फ ५ सय र भीभीआईपीतर्फ १ हजार टिकट दर राखिएको एन्फाले जनाएको छ ।
यस अघि नेपालले २०७७ सालमा थ्री नेसन्स कप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । फाइनलमा बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।