काठमाडौं । १६ औं एसियन क्रस कन्ट्री च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ ।
च्याम्पियनसिप गोकर्ण गल्फ रिसोर्टमा भोलि मंगलबार आयोजना हुँदैछ ।
नेपाल एथलेटिक्स संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।
एसियन एथलेटिक्स एसोसिएसनको कार्यक्रम अनुसार आयोजना हुने च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, चाइनिज ताइपे, हङकङ, भारत, इरान, जापान, काजकास्तान, माल्दिभ्स, पाकिस्तान र थाइल्यान्ड गरि ११ राष्ट्रका ६५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
त्यसमा नेपालका सबै भन्दा बढी १९ खेलाडीको सहभागिता रहनेछ । छनोट प्रतियोगिताबाट छानिएका १९ खेलाडीलाई संघले बन्द प्रशिक्षणमा रहेका छन् ।
च्याम्पियनसिपमा सिनियर महिला र पुरुषतर्फ १० किलोमिटर, २० वर्ष मुनिका जुनियर महिलातर्फ ६ किलोमिटर र २० वर्ष मुनिका जुनियर पुरुषतर्फ ८ किलोमिटर गरि ४ विधामा व्यक्तिगत र टिम इभेन्ट्सहरुमा प्रतिस्पर्धा हुनेछ । नेपालबाट सिनियर महिलामा ४ र बाँकी सबै इभेन्ट्समा समान ५ खेलाडीले च्याम्पियनसिपमा भाग लिनेछन् ।
च्याम्पियनसिपमा राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद विकास परिषद, सुदूरपश्चिम खेलकुद विकास परिषद्, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, कागेश्वरी मनहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, एनटिभी प्लसको सहयोग रहेको छ ।