इलाम । इलाममा प्रदेश-१ स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
वरबोटे ब्याडमिन्टन क्लबको आयोजनामा हुने प्रतियोगिता फागुन १८ देखि २० गतेसम्म हुनेछ ।
प्रतियोगिताका खेलहरु इलाम नगरपालिका–५ को वरबोटे बहुउद्देश्यीय कवर्डहलमा प्रतियोगिता संचालन हुनेछ । प्रतियोगितामा मेन्स डबल, भेट्रान्स र जिल्ला स्तरीय प्रतियोगिता गर्ने तयारी रहेको वरबोटे ब्याडमिन्टन क्लबका सचिव राजन दहालले जानकारी दिए ।
मेन्स डबल प्रतियोगिताको प्रथम ३० हजार, दोस्रो २० हजार र सेमीफाइनलबाट बाहिरिने टोलीलाई जनही ७ हजार ५ सय रहेको छ । त्यस्तै भेट्रान्स र जिल्ला स्तरीय प्रतियोगिताको प्रथम २५ हजार, दोस्रो १५ हजार र सेमीफाइनलिष्टलाई ५÷ ५ हजार रुपैया रहेको छ ।
भर्खरै दर्ता भएर प्रदेश स्तरीय प्रतियोगिताको आयोजना गरेको क्लबले आर्थिक अभावका बाबजुद खेलको आयोजना गरेको क्लबका अध्यक्ष गृष्म सुब्बाले बताए ।
एक वर्ष अघि कभर्डहल निर्माण भएपनि उपभोग विहीन भएकाले ब्याडमिन्टन आयोजना गरिएको सुब्बाले जनाए ।
प्रतियोगितामा भाग लिने टिमले फागुन १७ गते दिउसो १ बजे सम्ममा दर्ता गराइसक्नु पर्ने छ ।
पुरुष खुल्ला डबल दुवै खेलाडी एउटै जिल्लाको हुनुपर्ने भेट्रानको हकमा आफ्नो उमेर खुल्ने परिचयपत्र अनिवार्य पेस गर्नुपर्ने छ ।
खेल सम्पन्न गराउनको लागि जिल्लाका सरोकार संघ संस्थासँग आयोजकले छलफल गरिरहेको छ ।