काठमाडौं । काठमाडौं उसु क्वानले प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।
काठमाडौं ८ स्वर्ण, ४ रजत र ६ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो ।
कालभैरब उसु क्वानद्वारा आयोजित प्रतियोगितामा बुद्ध प्रकाश उसु क्वान ७ स्वर्ण, ४ रजत र १० कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको ड्रागन उसु क्वानले ५ स्वर्ण, ५ रजत र ४ कांस्य हात पार्यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताअन्तर्गत थाउलोको पुरुषमा ड्रागनका रोजिश बल तथा महिलामा बुद्ध प्रकाशकी लक्ष्मी तामाङ उत्कृष्ट खेलाडी घोषित भए । सान्सौंको पुरुषमा कपन उसु क्वानका प्रतिक कुलुङ तथा महिलामा यिन याङकी उसु क्वानकी रेश्मा ब्लोन उत्कृष्ट खेलाडी चुनिए ।
विजेतालाई बागमती प्रदेशका सांसद मिनकृष्ण महर्जन, नेपाल उसु महासंघका अध्यक्ष जनक गर्तौला, आयोजक कालभैरव उसु क्वानका अध्यक्ष निकेश श्रेष्ठलगतयतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
यस्तै प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिताको समापनका अवसरमा आयोजक कालभैरव उसु क्वानले बृहत राष्ट्रिय खेलकुदको फरक संस्करणमा उसुमा ३ देखि ३ भन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई पनि सम्मान गरेको थियो ।
एलिना चौधरी (५ स्वर्ण), मंगलप्रसाद थारु (४ स्वर्ण), अशोक खालिङ (४ स्वर्ण), सुस्मिता तामाङ (४ स्वर्ण) तथा ३ स्वर्ण विजेता निमा घर्ती मगर, हरिप्रसाद गोले, विजय सिन्जाली, दीपक हमाल र चित्रसिंह ठकुरी सम्मानित भए ।