काठमाडौं । तेस्रो यलम्बर कप तथा प्रथम राष्ट्रव्यापी यलम्बर भेट्रान्स च्याम्पियनसिप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
ललितपुरको नखिपोट युथ क्लबको कभर्डहलमा प्रतियोगिता आइतबारबाट सुरु भएको हो ।
प्रतियोगिताको पहिलो दिन यू-१९ ब्वाइज सिंगल्सतर्फको खेलहरु भएको थियो ।
जस अन्तर्गत एपीएफ क्लबका क्षितिज खनालले आर्मी क्लबका सुबिन श्रेष्ठलाई २१-१३ र २१-१४ ले हराएर प्रि-क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् ।
कन्चनपुरका निखिल भट्टले देवनगर ब्याडमिन्टन क्लबका आदिश कार्कीलाई २१-१० र २१-११ ले हराएर प्रि-क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् ।
आर्मीका सन्तोष पनेरुले देवनगरका सक्षम ढकालबाट, आर्मीकै कबिर केसीले गुल्मीका जेनिस थकालीबाट र महेश खड्काले अमन डंगोलबाट वाकओभर पाउँदै प्रि-क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
त्यस्तै आर्मीका सुनिल जंग कार्कीले योङस्टार ब्याडमिन्टन क्लबका सम्यक शाक्यलाई २१-११,२१-१९ ले, दाङका अरुण अधिकारीले वाईसीबीसीका रिजन मगरलाई २१-१०, २१-१० ले, आर्मीका डेभिड थापा मगरले एपीएफका आशिष गुरुङलाई २१-८, २१-८ ले, अमन तामाङले मानभवन ब्याडमिन्टन क्लबका संगम मोक्तानलाई २१-९,२१-११ ले, सुम्निमाका अविनास कार्कीले एपीएफका अमन महर्जनलाई २१-१९,२१-१७ ले हराएर प्रि-क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
आर्मीका अनिल मल्लले वाईसीबीसीका साप्तेन हाँङ राईलाई २१-६, २१-६ ले, राजेश क्षेत्रीले योङस्टारका सौगात शाक्यलाई २१-१४, २१-११ ले, आर्मीका हिमाल चन्दले एपीएफका अरुष सिम्खडालाई २१-७,२१-१० ले, एपीएफका रोशन साउदले आर्मीका अभय महरलाई २१-११,२१-१५ ले, वाईसीबीसीका किरण न्यौपानेले अच्यात ढुंगेललाई २१-२,२१-७ ले र आर्मीका नरेन्द्र बमले एपीएफका प्रारम्भ सिम्खडालाई २१-११,२१-१३ ले हराएर प्रि-क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलले आयोजना गरेको प्रतियोगिता माघ ४ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगितामा मेन्स ओपन डबल्स (शीर्ष २० वरीयता बाहेक ), सुपर भेट्रान्स डबल्स (५५ वर्षमाथि), भेट्रान्स डबल्स (४५ वर्षमाथि), मेडियम भेट्रान्स डबल्स (३५ वर्षमाथि), महिला एकल (शीर्ष २० वरीयता बाहेक) र पुरुष एकल (१९ वर्षमुनि शीर्ष २० वरीयता बाहेक) इभेन्ट्समा प्रतिस्पर्धा भईरहेको छ ।
प्रतियोगिताको मेन्स ओपन डबल्सको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रो हुनेले २० हजार नगद पुरस्कार पाउने छन् ।
सुपर भेट्रान्स डबल्सको विजेताले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले २० हजार पाउने छन् ।
भेट्रान्स डबल्स र मेडियम भेट्रान्स डबल्सको विजेताले ३५ हजार, दोस्रोले २० हजार र तेस्रोले २० हजार पाउने छन् ।
महिला एकलतर्फको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार प्राप्त गर्दा पुरुष एकलको विजेताले ३० हजार, उपविजेताले २० र तेस्रोले २० हजार पाउने आयोजकले जनाएको छ ।
नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलका अध्यक्ष जयराम राईले पहिलो किराँत कालिन राजा यलम्बरलाई विश्वमा चिनाउन साथै खेलकुदको माध्यमबाट स्वस्थ्य समाज निर्माण र खराब संगत र कुलतबाट युवाहरुलाई जोगाई सभ्य समाज निर्माण गर्न सहयोग पुर्याउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी गराए ।