पोखरा । पुर्वी नवलपरासीको कावासोतीमा सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको सेपाकताक्रोका तीन वटै विधाका ६ स्वर्णमध्ये ५ स्वर्ण विभागीय टिम आर्मीले जितेको छ ।
बुधबार सम्पन्न पुरुष रेगुतर्फको फाइनलमा आर्मीले गण्डकीलाई २–१ को सेटमा हराउँदै स्वर्ण हात पारेको हो ।
आर्मीका सन्जित धिमाल, सूर्य चौधरी, उमेश महतो, दिपेश जंग थापा रोशन तामाङको समूहले स्वर्ण जितेका हुन् ।
विभागीय टिम आर्मीले योसँगै सेपाकताक्रोको डबल, रेगु र क्वार्ड विधाको महिलातर्फका तीन वटै र डबल विधाका पुरुषतर्फका १ स्वर्ण र रेगु विधाको पुरुषतर्फ १ स्वर्ण गरी ५ स्वर्ण जितेको हो ।
पुर्वी नवलपरासीको कावासोतीमा रहेको योङ्गस्टार क्लबको कर्भडहलमा सञ्चालन भएको महिला र पुरुषको फरक–फरक ३ वटा विधामा प्रतियोगितामा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी , कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिएका थिए ।