पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत उसु प्रतियोगिता आज आइतबारबाट सुरु हुँदै छ । पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा उसुका खेल हुँदै छन् ।
प्रतियोगिताको सान्सु पुरुषतर्फ ९ स्वर्ण, ९ रजत र १८ कास्यका लागि प्रतिस्पर्धा हुँदैछ भने सान्सु महिलामा ६ स्वर्ण र कास्य १२ पदकका लागि स्पर्धा हुँदै छ ।
सन्सुतर्फ ४५–४८ केज, ४८–५२ केजी, ५२–५६ केजी, ५६–६० केजी, ६०–६५ केजी, ६५–७० केजी र ७५–८० केजीमा समूहमा खेल हुने कास्की जिल्ला उसु संघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र गहतराजले जानकारी दिए ।
थाउलोमा पुरुष र महिलातर्फ समान स्वर्ण ४, रजत ४ र कास्य ४ का लागि खेल हुनेछ । प्रतियोगिताका विभिन्न इभेन्टमा करिब ३ सय ४० खेलाडी सहभागी हुने उसुका व्यवस्थापक गहतराजले जानकारी दिए ।
उसुमा सात प्रदेशका सात टिम र तीन विभागीय गरी १० टिमको सहभागिता छ । उसुमा एनआरएनको सहभागी छैन । २३ असोजबाट केही खेल सुरु भए पनि शुक्रबारबाट औपचारिक रूपमा नवौं खेलकुद सुरु भएको हो ।
नवौं खेलकुदमा ६ हजार १ सय खेलाडीसहित अफिसियल, व्यवस्थापक सहभागी छन् । नवौं खेलकुदमा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा जारी छ । ३६ खेलका ४ सय ४ इभेन्ट्समा प्रतिस्पर्धा जारी छ ।