काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले विभागीय टिम त्रिभुवन आर्मी क्लब र सिएमजी संकटाले प्रतिस्पर्धा गरिरहेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो हाफको खेल सकिदा आर्मीले २ - १ को अग्रता बनाएको छ । आर्मीले संकटाले बनाएको सुरुवाती अग्रता उल्टाएर २ - १ अग्रता बनाएको हो ।
संकटाले खेलको ९ औं मिनेटमा विदेशी खेलाडी म्याक्सवेल एलोनको गोलबाट अग्रता बनाएको थियो । त्यसअघि खेलको तेस्रो मिनेटमा आर्मीले पेनाल्टीमा गोल गर्न सकेनन् ।
आर्मीका टंक बस्नेतलाई संकटाका अमित तामाङले फल गरेपछि आर्मीले पेनाल्टी पाएको थियो । पेनाल्टीमा आर्मीका सन्तोष तामाङको प्रहार क्रस बारमा लागेर फर्किएको थियो ।
तर, खेलको १७ औं मिनेटमा आर्मीका टेक बहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई १ - १ को बराबरीमा ल्याए । विकास तामाङको पासमा टेकले हेड गोल गरेका थिए । त्यसपछि खेलको २९ औं मिनेटमा भरत खवासले गोल गर्दै आर्मीलाई २ - १ को अग्रता दिलाए ।
आज दुवै टोलि अपराजित यात्रालाई कायम राख्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
संकटा लिगमा शतप्रतिशत जित निकाल्न सफल छ । विभागीय टिम आर्मी दुईमा जित र एकमा बराबरीको नतिजा सहित प्रतियोगितामा अपराजित छ ।