काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको चौथो चरणको खेलहरु सोमबारबाट सुरु हुँदैछ । चौथो चरण अन्तर्गत पहिलो दिन तीन खेलहरु हुँदैछ ।
एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र सिएमजी संकटाले प्रतिस्पर्धा गर्दैछ । यस्तो दोस्रो खेलमा न्युरोड टिम एनआरटि र रुस्लान थ्री स्टार क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
हल्चोकस्थित एपीएफ मैदानमा हुने खेलमा च्यासल युथ क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
लिग अन्तर्गत चौथो चरणको पुर्वसन्ध्यामा सबै क्लबहरुले जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।
खेल अघिको प्रि म्याच कन्फरेन्समा क्लबका प्रशिक्षकहरुले के के भने ?
अशोक राई : रुस्लान थ्री स्टार (सहायक प्रशिक्षक )

हामी भोली जित्नकै लागी खेल्छौँ । खेलमा लक र ब्याडलक हुने रहेछ । मनाङविरुद्ध हाम्रो त्यस्तै भयो । मनाङसँग सुरुमै पछि परेका थियौं । अब हामी फेरी शीर्ष स्थानमा आउने छौं । यो विगतमा पनि भएको थियो । अनन्त र क्लबको बिचमा के भएको छ यसमा कमेन्ट गर्न मिल्दैन ।
महेश्वर मुल्मी : एनआरटी (प्रशिक्षक)

हामीलाई सिनियर खेलाडीको अभाव एकदमै भएको छ । थ्री स्टार कठिन टिम हो । हामी बराबरी खेल्ने दाउमा छौँ । हामी डिफेन्सिभ र अट्याकिङ गेम खेल्छौँ । हाम्रो प्लानिङ भनेको लिगको सातौं वा आठौंमा आउने हो । यो लिगमा जित्नै पर्ने भन्ने छैन । हामी अर्को लिगका लागि तयारीमा छौं । हाम्रा विदेशी खेलाडीहरु पनि प्रभावशाली देखिएको छैन ।
नविन न्यौपाने : त्रिभुवन आर्मी (प्रशिक्षक)

हाम्रो मुख्य लक्ष्य भेनेकै तीन अंक हो । सबै खेल महत्वपूर्ण छ । हामीले आफ्नो लय समात्न सकेका छैनौं । हाम्रो पावर अनुसार खेल भईरहेको छैन । हामी भोली हाम्रो लय अनुसार खेलेर तीन अंक जोड्ने छौ । हाम्रो फिनिसिङमा समस्या छ ।
स्टार खेलाडीहरु पनि लयमा छैनन् । नवयुग श्रेष्ठ घाइते छन् । सुमन अर्याल दोहोरो पहेलो कार्डले खेल्न पाउँदैन । संकटा दावेदार टिमको रुपमा आएको छ । जर्ज प्रिन्स कार्की आफ्नो भविष्य बनाउन लागेको छ । आर्मीको प्रमोसनमा भएकाले लिगका बाँकी खेल खेल्न पाउने छैन ।
सल्यान खड्की : संकटा (प्रशिक्षक)

हाम्रो तयारी राम्रो छ । अन्तिम समय हामीसंग स्ट्राइकर नहुदा पनि जित निकाल्न सफल भयौं । हामीलाई सजिलो हुने छैन ।आर्मीको ब्याकप खेलाडी झनै बलियो हुन सक्छ । हाम्रो जितको यात्रा यहि रहला भन्न सकिदैँन । हाम्रो लागि झन अब चुनौतीको रुपमा हेरेका छौं । हाम्रो लक्ष्य भनेको चौथो र पाँचौ हुने हो ।
अनन्त राज थापा : नेपाल पुलिस क्लब (प्रशिक्षक)

हाम्रो तयारी राम्रो छ । च्यासल हाम्रो लागी च्यालेन्ज टिम नै हो । पाएको मौकामा हामीले सदुपयोग गर्न सक्यौं भने नतिजा आउँछ । फुटबलमा केहि भन्न सकिदैन । हाम्रो फुटबल खेल्ने शैली परिवर्तन हुने छैन । बल पोजिसन राख्दै खेल आफ्नो पक्षमा राख्नेछौँ ।
च्यासल राम्रो टिम हो । एक टिमलाई जित्न कतिको तयारी गर्नुपर्छ । हामी त्यसरी नै अगाडी बढ्नेछौ । हामी जितको लागी खेल्नेछौ । हामी हाम्रो गेम प्लानिङ अनुसार खेलेर लक्ष्य पुरा गर्नेछौ ।