काठमाडौं । अन्तर्राष्ट्रिय ट्राभल एजेन्सी इन्ट्रापेड नेपालले आइतबार हाफ म्याराथनको आयोजना गर्ने भएको छ ।
भियतनाममा सडक बालबालिका र गरिबीका कारण विद्यालय छाड्नु परेका बालबालिकालाई सहयोग गर्ने लक्ष्यका साथ इन्ट्रापेडले हाफ म्याराथन आयोजना गर्न लागेको हो ।
च्यारिटी म्याराथनका रुपमा रहेको यस प्रतियोगितलाई इन्ट्रापेडले ‘ब्लु ड्रागन म्याराथन’को नाम दिईएको छ । ब्लु ड्रागन म्याराथन आइतबार बिहान ६ः३० बजे इन्ट्रापेड नेपालको कार्यालय लाजिम्पाटबाट सुरु भएर महाराजगञ्ज, सामाखुशी चोक हुदै ग्रिनल्यान्ड, टोखा, बुढानिलकण्ठ, हात्तिगौडा, गल्फुटार, महाराजगञ्ज हुदै लाजिम्पाट आएर सकिनेछ ।
२१ किलोमिटरको ब्लु ड्रागन म्याराथनबाट जम्मा भएको रकम इन्ट्रापेडले भियतनामका बालबालिकालाई सहयोग गर्नेछ । इन्ट्रापेडले उक्त रकम भियतनामका रहेको ब्लु ड्रागन चिल्ड्रेन फाउन्डेसनमार्फत बालबालिकालाई सम्म पुर्याउनेछ ।
ब्लु ड्रागन म्याराथनमा इन्ट्रापेड नेपालसँग सहयकार्य गरेका तथा उनीहरूसँग जोडिएका संस्थाका प्रतिनिधिहरूले प्रतिस्पर्धा गर्नेछन् ।
अष्ट्रेलिया मुख्यालय रहेको इन्ट्रापेड ट्राभलको नेपाल, भुटान, सिंगापुर, अमेरिका, भियतनामलगायतका थुप्रै देशमा कार्यालय रहेको छ । इन्ट्रापेडले आफ्नो कार्यालय रहेका सबै देशमा यस प्रतियोगिताको आयोजना गरेको छ । नेपालमा भने आइतबार हुन लागेको हो ।