काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत तेस्रो चरणको अन्तिम खेलमा हिमालयन शेर्पा क्लबले जित हासिल गरेको छ ।
शनिबार भएको खेलमा हिमालयन शेर्पाले जावलाखेल युथ क्लबलाई २ - १ गोल अन्तरले पराजित गरेको हो ।
हल्चोकस्थित एपीएफ क्लबको मैदानमा हिमालयन शेर्पालाई जित दिलाउन कर्ण लिम्बुले दुई गोल गरे । जावलाखेलले भने आत्मघाती उपहार पाएको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६६ औं मिनेटमा कर्णले गोल गर्दै हिमालयनलाई सुरुवाती अग्रता दिलाए । खेलको ७५ औं मिनेटमा कर्णले ब्यतिगत दोस्रो गोल गर्दै टोलीलाई २ - ० को अग्रता दिलाए ।
खेलको ८६ औं मिनेटमा हिमालयनका आशिष गुरुङले आत्मघाती गोल गर्दा जावलाखेल २ - १ को स्थितिमा आयो । त्यसपछि खेलको अन्तिममा जावलाखेलले बराबरी गर्ने मौका पाएपनि मौका चुकाउदा पराजित हुन पुग्यो । जावलाखेलका विदेशी खेलाडी फोफाना फोदीले सुनौलो मौकामा गोल गर्न सकेनन् ।
खेलमा हिमालयन शेर्पाका कर्ण लिम्बु म्यान अफ दि म्याच बने ।
जितसंगै हिमालयन शेर्पाले लिगमा दोस्रो जित आत्मसात गरेको छ । हिमालयन शेर्पाले ३ खेलबाट ७ अंक जोडेको छ । र, लिगको चौथो स्थानमा उक्लिएको छ । जावलाखेलको भने यो लगातार तेस्रो हार हो । जावलाखेल लिगको पुछारमा छ ।